शनिवार , पौष १९, २०८२
भैरहवा, १९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीले शोभाकर बञ्जाडेसहित ८ जनालाई उम्मेदवारमा सिफारिस गरेको छ । पार्टीको जिल्ला समन्वय समिति अर्घाखाँचीको बैठकले बन्जाडेसहित ८ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।
प्रत्यक्षतर्फ पर्यटन व्यवसायी शोभाकर बन्जाडे, पूर्व राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, तत्कालीन नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहान, युवा नेता गिरिजा खड्का, ठाकुर सौराग, निर्मला पोखरेल, विष्णु गैरे र मोहन गौतमलाई सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ ठाकुर कुमार वि.क., पिताम्बर सारु, सुनिता भुसाल बेल्बासे र हसरुद्दीन मियाँको नाम सिफारिस गरिएको छ ।
पर्यटन व्यवसायी बञ्जाडेले रुपन्देहीको बुटवलको कालिकानगरमा एशियन होटल सञ्चालन गर्नुभएको छ । उहाँ नेपाल पर्यटन व्यवसायी संगठनको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इञ्चार्ज हुनुहुन्छ । त्यस्तै उहाँ नेपलीज होटसियर्स एशोसियशन (लुम्बिनी)को सदस्य समेत हुनुहुन्छ ।
रुपन्देहीमा रहेर पर्यटन व्यवसाय सञ्चालन गर्दै आउनुभएका बन्जाडे आफ्नो घर अर्घाखाँचीको मालारानी गाउँपालिका–१ स्थित सुन्दरपोखरामा ‘कृषि क्रान्ती’ समेत गर्दै आउनुभएको छ । उहाँले मौसमी फलफूलका साथै किवि, ड्रागनफ्रुट लगायतका फलफूल समेत उत्पादन गरी बजारमा विक्रीवितरण गर्दै आउनुभए छ ।
यसअघि नेकपा (माओवादी केन्द्र) बाट लुम्बिनी प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भए पनि गठबन्धन हुँदा उहाँ निर्वाचनमा उम्मेदवार बन्न पाउनुभएन । युवाको सोचअनुसार केही गर्नुपर्छ भन्ने मान्यतामा रहेर आफूलाई पार्टीले अगाडि बढाइरहेको उहाँले बताउनुभयो । मुलुक र जनताको हितमा काम गर्न आफू कटिबद्ध भएर लागेको उहाँको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij