बुधवार , पौष २३, २०८२
भैरहवा, २३ पुस । आन्तरिक राजस्व कार्यालय, भैरहवा, रुपन्देहीले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।
चालु आ.व.२०८२/०८३ को साउनदेखि मंसिर महिनासम्ममा आन्तरिक राजस्व विभागले ५ अर्ब ३६ करोड ८३ लाख ८ हजार संकलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले लक्ष्यको १२१ दशमलव १ अर्थात ६ अर्ब ५० करोड ३२ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा यो कार्यालयले ४ अर्ब ५१ करोड ८ लाख ४७ हजार रुपैयाँ राजस्व संलकन गरेको थियो ।
गत वर्षको सोही अवधिको तुलना गर्दा अहिले राजस्व संकलन ४४ दशमलव २ प्रतिशतले वृद्धि भएको आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजस्वमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी अर्थात करीब ८० प्रतिशत रहेको छ ।
यी हुन् कारण
आन्तरिक राजस्व कार्यालय, भैरहवाले पाएको लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल हुनुका विभिन्न कारणहरू छन् । प्रमुख कर अधिकृत पोख्रेलका अनुसार अर्थतन्त्रका परिसूचकमा देखिएको सुधार, आर्थिक गतिविधिमा भएको वृद्धि, नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, वक्यौता असुलीमा तीव्रता, बजेटमा व्यवस्था भएका छुट सुविधाको कार्यान्वयन, परिणाममुखी र प्रभावकारी करदाता शिक्षा, करदातामैत्री सेवा प्रवाह र नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गर्ने र खरीद गर्नेमाथिको अनुसन्धान तथा कर निर्धारण र कर परिपालनामा देखिएको करदाताको उत्साहका कारण कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो ।
आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्र अन्तर्गत ८२ हजार भन्दा बढी व्यवसायिक करदाताहरू छन् । यो कार्यालयको कार्यक्षेत्रमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नम्बर १ देखि ४ तथा ११ र १२, लुम्बिनी साँस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई, सियारी गाउँपालिका र शुद्धोदन गाउँपालिकाको वडा नम्बर ३ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला पर्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij