२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

कोटहीमाईमा ३५५ योजना सम्पन्न, १८ किलोमिटर बढी सडक निर्माण

बिहिवार , पौष २४, २०८२

  • 571
    Shares
  • 571
    Shares
  • भैरहवा, २४ पुस । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा ३ सय ७० वटा योजना तथा कार्यक्रम निर्माण गरेकोमा ३ सय ५५ वटा योजना तथा कार्यक्रम सम्पन्न भएका छन् । 

    बाँकी १५ वटा योजना भने सञ्चालन हुन नसकेको गाउँपालिकाको योजना शाखा प्रमुख फडेन्द्र प्रसाद बगालेले जानकारी दिनुभयो। उहाँका अनुसार सो अवधिमा वडास्तरबाट १ सय ४ वटा योजना तथा १ सय ६ वटा कार्यक्रम र पालिकास्तरबाट ४५ वटा योजना तथा १ सयवटा कार्यक्रम सम्पन्न भएका छन् ।

    aa26890b-f909-4e04-8d4b-b48a66ac16ba.jpg

    भौतिक संरचनाको विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका इञ्जिनियर नवराज भण्डारीले चालु आर्थिक वर्ष २०८१/०८२ मा पालिकाले १४.२ किलोमिटर ग्राभेल सडक, ३.९५ किलोमिटर पीसीसी सडक र २.४५ किलोमिटर नाली निर्माण गरेको जानकारी दिनुभयो । यससँगै २ सय २४ थान बोरिङ, २ सय ६० वटा ह्याण्डपम्प जडान गरिएको छ । धार्मिक तथा शैक्षिक संरचनातर्फ १७ वटा मठमन्दिर मर्मत, ३७ वटा विद्यालय मर्मत तथा ३ सय ६३ मिटर कम्पाउण्ड वाल निर्माण गरिएको उहाँले बताउनुभयो ।

    पालिकामातहत रहेका ७ वटा वडा कार्यालय र ७ वटा स्वास्थ्य चौकीको भौतिक संरचना, १ आयुर्वेद औषधालय र पालिकाको पक्की भवनबाट ८९ जना कर्मचारीमार्फत विभिन्न सेवा प्रवाह भइरहेको जिन्सी शाखा प्रमुख पप्पु कुर्मीले जानकारी दिनुभयो । पालिकाले निर्माण गरेको दुईतले प्रशासनिक भवनसँगै दुईतले सभा हलबाट विभिन्न सभा–सम्मेलन सञ्चालन हुँदै आएको उहाँले बताउनुभयो ।

    पालिकामा ३३ जना स्थायी, ५६ जना अस्थायी, करार तथा ज्यालादारी कर्मचारी कार्यरत छन् । तीमध्ये १९ जना महिला र ७० जना पुरुष रहेका छन् । प्रशासन शाखा प्रमुख हंसराज थारुले उक्त विवरण सार्वजनिक गर्नुभएको हो ।

    शिक्षा शाखाबाट सहायक शिक्षा अधिकृत मनोहर चौधरीका अनुसार पालिकाभित्र १४ वटा सामूदायिक विद्यालय, ८ वटा धार्मिक विद्यालय, २ वटा सिकाइ केन्द्र र एउटा सामुदायिक क्याम्पस सञ्चालनमा रहेका छन् । त्यसै गरी पालिकाभित्र १३ वटा निजी विद्यालय पनि सञ्चालनमा छन् । त्यसै गरी प्राथमिक तहमा ९५, निम्न माध्यमिक तहमा ३४ र माध्यमिक तहमा २७ गरी कुल १ सय ५६ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् । यी शिक्षक तथा कर्मचारीलाई गाउँपालिकाले तलब प्रदान गर्दै आएको छ ।

    स्वास्थ्य क्षेत्रमा ४४ हजार ६ सय ३२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको स्वास्थ्य शाखाका सि.अ.हे.व. अंकित शर्माले जानकारी दिनुभयो । ६ वटा स्वास्थ्य चौकी र १ वटा आधारभूत स्वास्थ्य केन्द्रमार्फत सेवा प्रदान गरिदै आएको उहाँले बताउनुभयो । यससँगै पालिकाभित्र ७ वटा गाउँघर क्लिनिक र ७ वटा खोप केन्द्र समेत सञ्चालन रहेको उहाँले बताउनुभयो । त्यस्तै एउटा प्रसुती केन्द्रबाट समेत सेवा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

    पालिकाभित्र एक मात्र रहेको आयुर्वेद औषधालयबाट १० हजार ७ सय ४० जनालाई सेवा प्रदान गरिएको आयुर्वेद शाखा प्रमुख रेखा शुक्लाले जानकारी दिनुभयो । उहाँका अनुसार ७ हजार ४ सय ८९ जनालाई बहिरंग सेवा, १ हजार ६ सय २५ जनालाई ज्येष्ठ नागरिक सेवा, ४ सय ५९ जनालाई स्तनपायी सेवा र १ हजार १ सय ६७ जनालाई पञ्चकर्म सेवा प्रदान गरिएको छ । त्यसै गरी नागरिक आरोग्य कार्यक्रमबाट १ सय ११ जना र विद्यालय आयुर्वेद तथा योग कार्यक्रममार्फत २ सय ७३ जनालाई सेवा प्रदान गरिएको छ ।

    रोजगार सेवा शाखाबाट प्रदान गरिएका सेवाबाट ३५ जनाले १ हजार ९ सय ६२ दिन रोजगारी पाएका छन् । कोटहीमाई रोजगार सेवा केन्द्रका संयोजक कृष्ण यादवका अनुसार पालिकाका विभिन्न वडामा ९ वटा आयोजना सम्पन्न भएका छन् । सोही शाखाबाट श्रम स्वीकृति, वैदेशिक रोजगार परामर्श सेवा, शव ढुवानी, उद्वार तथा खोजतलास, बिरामी तथा अंगभंग तथा क्षतिपूर्ति दिलाउने जस्ता सेवामार्फत ६५ जनालाई सेवा प्रदान गरिएको छ ।
    योग्यता पुगेका पालिकाभित्रका ३ हजार ९ सय ४७ जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख जयसागर यादवले जानकारी दिनुभयो । सामाजिक सुरक्षा भत्ता प्रत्येक आर्थिक वर्षमा ४ किस्तामा ४ वटा बैंकमार्फत वितरण हुँदै आएको उहाँले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता पाउनेमध्ये गत आर्थिक वर्षमा १ सय ४५ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शिवदास गुप्ताले पालिकाभित्रका ३९ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको जानकारी दिनुभयो । जसमध्ये १ जनालाई रातो कार्ड, १८ जनालाई निलो कार्ड, १ जनालाई पहेलो कार्ड र १ जनालाई सेतो कार्ड वितरण गरिएको छ । उक्त शाखाबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित समस्याको समाधान तथा आवश्यक सहयोग प्रदान हुँदै आएको उहाँले बताउनुभयो ।

    कृषि शाखाबाट आर्थिक वर्ष २०८१/०८२ मा फलफुल विरुवा वितरण, च्याउ खेती प्रबद्र्धनको लागि बीउ वितरण, हरियो मल प्रबर्धन, बेमौसमी तरकारी खेती किट वितरण, माटो सुधारको लागि पोषक तत्व वितरण, विषादी वितरण, रोग तथा किरा रोग नियन्त्रण तथा अर्गानिक खेती सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख जितेन्द्र आर्यले दिनुभयो । विभिन्न कार्यक्रममार्फत १३ हजार २ सय ७२ किसान परिवार प्रत्यक्ष लाभान्वित भएको आर्यले जानकारी दिनुभयो । 

    पालिकाभित्रका ६ हजार ५ सय ५५ पशुचौपायालाई उपचार सेवा प्रदान गरिएको पशु सेवा शाखा प्रमुख जयप्रकाश यादवले जानकारी दिनुभयो । विभिन्न रोग परीक्षणका लागि १ सय १५ जनाको खोबर परीक्षण, १० जनाको पोस्टमार्टम, ६ सय ५० बोकालाई खसी बनाइएको छ । त्यसै गरी २ सय रेबिज, ५ हजार खोरेत र ८ हजार पी.पी.आर. खोप लगाइएको जानकारी दिनुभयो ।

    कोटहीमाई गाउँपालिका नापी शाखाबाट विभिन्न २० वटा जग्गा विवाद समाधान गरिएको नापी तथा नक्सा इकाई प्रमुख रघुनन्दन यादवले जानकारी दिनुभयो । सडक निर्माणका क्रममा उत्पन्न जग्गा क्षेत्रसम्बन्धी विवाद पालिकाको सक्रियतामा समाधान गरिएको उहाँले बताउनुभयो । जग्गा नापजाँच, घरनक्सा अभिलेखलगायत सेवा प्रदान हुँदै आएको छ ।

    सामाजिक विकास शाखाबाट लक्षित तथा विषयगत कार्यक्रम सञ्चालन हुँदै आएको शाखा प्रमुख अजय सिंह क्षेत्रीले जानकारी दिनुभयो । सामुदायिक प्रहरी साझेदारी, लैंगिक हिंसाविरुद्ध, खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

    सूचना प्रविधि शाखाबाट पालिकालाई सूचनामैत्री तथा सुशासनमुखी बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख राजन चौसरियाले जानकारी दिनुभयो । गाउँपालिकाको सूचना अधिकारीको जिम्मेवारीसमेत निर्वाह गर्दै आउनुभएका चौरसियाका अनुसार उक्त शाखाबाट गत आर्थिक वर्षमा परेका ९ वटा सूचना हकसम्बन्धी निवेदनमा सबै सूचना उपलब्ध गराइएको छ ।

    गत आर्थिक वर्षमा पालिकाबाट ६८ लाख ४० हजार २ सय ४८ रुपैयाँ राजस्व संकलन भएको राजस्व शाखा प्रमुख सरिता केसीले जानकारी दिनुभयो । सिफारिस दस्तुर, व्यक्तिगत घटनादर्ता दस्तुर, नाता प्रमाणित, व्यवसाय कर, विद्युतसम्बन्धी कर, प्रशासनिक दण्ड जरिवाना तथा जफत, सम्पत्ति कर, घर बहाललगायत विभिन्न २२ शीर्षकबाट राजस्व संकलन गरिएको हो ।

    आर्थिक प्रशासन शाखाबाट ५ हजार ६९ व्यक्ति तथा संस्थालाई सेवा प्रदान गरिएको आर्थिक प्रशासन शाखा प्रमुख निरञ्जन ज्ञवालीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत ४८ करोड ५९ लाख २५ हजार रुपैयाँ बजेटमध्ये ४१ करोड २५ लाख ३५ हजार ९ सय २१ रुपैयाँ प्राप्त भएको छ । चालुतर्फ २७ करोड ५८ लाख ७४ हजार ८ सय ३२ रुपैयाँ र पूँजीगततर्फ ९ करोड ५५ लाख ९९ हजार ३ सय ७७ रुपैयाँ खर्च भएको छ ।

    वडागत रूपमा प्रत्येक वडामा १ करोड १५ लाखका दरले विनियोजन गरिएको बजेटमध्ये वडा नम्बर १ ले ९६ दशमलव ३, २ ले ८४ दशमलव २४, ३ ले ९५ दशमलव ९, ४ ले ९६ दशमलव ७३, ५ ले ८७ दशमलव ४, ६ ले ९४ दशमलव ४३ र वडा नम्बर ७ ले ९५ दशमलव १६ प्रतिशत बजेट खर्च गरेका छन् ।

    त्यसै गरी आर्थिक विकासतर्फ विनियोजित २ करोड ५३ लाख ९ हजारबाट ६९ दशमलव ३७ प्रतिशत, सामाजिक विकासतर्फ विनियोजित २१ करोड ७० लाख १९ हजारबाट ७८ दशमलव ६४, पूर्वाधार विकासतर्फ विनियोजित ९ करोड ९४ लाख ८५ हजारबाट ६३ दलमलव २०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ विनियोजित २ करोड २ लाख ६२ हजार ९ सय ९९ रुपैयाँबाट ६९.३९ प्रतिशत तथा कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ विनियोजित ११ करोड ४८ लाख ४९ हजारबाट ९२ दशलव ५७ प्रतिशत बजेट खर्च भएको छ ।

    b0b3aa2c-cdf0-4750-ae98-b5f3a9e39954.jpg

    गाउँपालिकाले सञ्चालन गरेका विकास निर्माण, सामाजिक सेवा, प्रशासनिक सुधार तथा सुशासनसम्बन्धी गतिविधिहरूले एक वर्षको अवधिमा स्थानीय सरकारको सक्रियता र कार्यसम्पादनको स्पष्ट तस्वीर प्रस्तुत गरेको गाउँपालिकाको भनाइ छ । भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा, सूचना प्रविधि र आर्थिक प्रशासनसम्म भएका कार्यक्रमहरूले पालिकाको समग्र विकास यात्रालाई दस्तावेजका रूपमा प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ ।

    Balkrishna Tripathi .JPG