२०८२, पौष २६ गते

Jan 10 2026 | २०८२, पौष २६ गते

करदाता सेवा कार्यालय, परासीको सेवा अब कोलेनिका, परासीबाट

शुक्रवार , पौष २५, २०८२

  • 535
    Shares
  • 535
    Shares
  • भैरहवा, २५ पुस । आन्तरिक राजस्व कार्यालय, भैरहवा, रुपन्देही अन्तर्गत करदाता सेवा कार्यालय, परासीले प्रवाह गर्दै आएको सेवाहरू बिहीबारदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट शुभारम्भ भएको छ ।

    नवलपरासी (बसुप) का प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले करदाता (सेवाग्राही) लाई कर चुक्ता प्रमाणपत्र प्रदान गरी सेवा शुभारम्भ भएको आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले बताउनुभयो । नेपाल सरकार मन्त्रीपरिषद्ले २०८२ कार्तिक १७ गते करदाता सेवा कार्यालयहरू खारेज गर्ने निर्णय गरेकोले उक्त कार्यालयको सेवा कोलेनिकाबाट सुरु भएको पोख्रेलले जानकारी दिनुभयो ।

    सेवा शुभारम्भ कार्यक्रममा प्रमुख कोष नियन्त्रक कमल सापकोटा, आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल, करदाता सेवा कार्यालय, परासीको प्रमुख माया पन्थी लगायतको उपस्थिति थियो ।

    करदाता सेवा कार्यालय परासीबाट सम्पादन हुँदै आएका सेवाहरू करदातालाई सहज, शीघ्र, चुस्तदुरुस्त र प्रभावकारी रूपमा प्रवाह गर्न कोलेनिका प्रतिबद्ध रहेको र सोहीअनुसार सेवा प्रवाह गरिने प्रमुख कोष नियन्त्रक सापकोटाले बताउनुभयो ।

    करदातालाई प्रदान गरिने सेवाको सुनिश्चितता र आवश्यक समन्वयका लागि कोलेनिका र आन्तरिक राजस्व कार्यालय, भैरहवाले एक–एक जना अधिकृतस्तरको कर्मचारीलाई ‘जिम्मेवार व्यक्ति’ तोकेको र सेवा प्रवाहमा करदाताबाट कुनै किसिमको गुनासो आउन नदिन आफूहरू प्रतिबद्ध रहेको प्रमुख कर अधिकृत पोख्रेलले बताउनुभयो । करदाताहरूलाई विश्वस्त रहन उहाँले आग्रह गर्नुभयो । साथै सेवा प्रवाह गर्ने प्रक्रियामा कुनै समस्या आएमा आन्तरिक राजस्व कार्यालय, भैरहवाबाट अनलाइन प्रणालीबाट तत्काल समाधान गरिने प्रमुख कर अधिकृत पोख्रेलले बताउनुभयो ।

    WhatsApp Image 2026-01-08 at 9.00.04 PM.jpeg

    करदाता सेवा कार्यालय, परासीको कार्यक्षेत्र अन्तर्गत करिब २८ हजार बढी करदाता र कार्यक्षेत्र नवलपरासी (बसुप) रहेको थियो ।