शुक्रवार , पौष २५, २०८२
काठमाडौं, २५ पुस । नेपाली काँग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनैपनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने नचाहेको बताउनुभएको छ ।
शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले यस्तो बताउनुभएको हो । उहाँले आसन्न प्रतिनिधि सभा निर्वाचन नेपाली काँग्रेसका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौतीको सामना गर्न पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको बताउनु भयो ।
उहाँले पार्टीका नेता कार्यकर्तालाई अग्र नभई संयमित हुन आग्रह गर्दै पार्टीभित्रको समस्या समाधान गर्न मध्यमार्गी बाटो अपनाउन समेत अपिल गर्नुभयो । नेता राणाले विशेष महाधिवेशनलाई सफल बनाउन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सहयोग गर्न अपिल पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘फागुन २१ गतेको निर्वाचन अगाडि पार्टीभित्र केही समस्याहरु हामीले देखेका छौँ । अब विषेश महाधिवेशनको आह्वान पनि भएको छ । पार्टी विभाजित हुने कुरामा म विश्वास गर्दिनँ । कुनैपनि काँग्रेसका नेता कार्यकर्ताले पनि काँग्रेस फुटोस् भन्ने चाहेका छैनन् । तर चुनाव अगाडि हामी सबै एउटै ठाउँमा उभिएर यो जटिल अवस्थाको सामना गर्नुपर्ने अवस्था छ ।
प्रतिनिधि सभा चुनाव नेपाली काँग्रेसका निम्ति एकदमै चुनौतीको रुपमा आएको छ । यसलाई फेस गर्नको लागि सबै साथिहरु एकै ठाउँमा उभिएर चुनावमा जानुपर्छ भन्ने हाम्रो धारणा हो । र म नेपाली काँग्रेसका सबै नेता र कार्यकर्ताहरुलाई धेरै उग्र भएर हामी नहिडौँ भनेर आग्रह पनि गर्न चाहान्छु ।
यसरी उग्र भएर राम्रो नतिजा दिँदैन । सबैले संयमित भएर यो विषेश महाधिवेशलाई सेफ ल्याण्ड गराउन जरुरी देखिएको कारणले हामीले यसको लागि मध्यमार्गी बाटो खोज्नुपर्छ । हामी सबैलाई अपिल पनि गर्न चाहन्छौँ । विषेश महाधिवेशनलाई सफल पार्नको लागि सहयोग गर्नुहोस् ।’
आईतवारदेखि हुने विशेष महाधिवेशनले एकताको सन्देश दिने जिकिर पनि गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij