२०८२, पौष २६ गते

Jan 10 2026 | २०८२, पौष २६ गते

पाँच महिनामै ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

शुक्रवार , पौष २५, २०८२

  • 820
    Shares
  • 820
    Shares
  • काठमाडौं, २५ पुस । आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह भएको छ । 

    शुक्रवार नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरण अनुसार अनुसार अघिल्लो वर्षको पाँच महिनाको तुलनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो । २०८२ मङ्सिर महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्व १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १८ अर्ब ७९ करोड रहेको थियो ।

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्व १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा खुद द्वितीय आय खुद ट्रान्सफर ९ खर्ब ५४ अर्व ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७०० अर्व ४३ करोड रहेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयां) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो ।

    समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब ५८ अर्व ४५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्व १८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५४ करोडले वचतमा रहेको छ ।

    समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रहेको थियो। यसैगरी, समीक्षा अवधिमा रु.७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र ६ अर्ब ३ करोड रहेको थियो ।

    समीक्षा अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोडले वचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २५ अर्व ३४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६८ करोडले वचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्व ९८ करोडले बचतमा रहेको छ ।

    २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई ०८२ मङ्सिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।