२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनी सरकारका जसपाका ४ मन्त्रीको सांसद पद गुम्यो

बिहिवार , बैशाख १६, २०७८

बुटवल, १६ वैशाख ।  
सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै मन्त्री भएका जनता समाजवादी पार्टी नेपाल (जसपा) का ४ जनाको सांसद पद गुमेको छ । 

जनता समाजवादी पार्टी संसदीय दलले पार्टीको निर्णयविपरीत मन्त्री भएको भन्दै जनता समाजवादी पार्टीका सांसद सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, र कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको पद गुमेको हो ।

यसअघि उनीहरूलाई पार्टीले २४ घण्टे स्पष्टीकरण पत्र सोधेको थियो। त्यसको जवाफ नदिएपछि संसदमा सदस्य नभएको पत्र जसपा संसदीय दलले सचिवालयमा दर्ता गराएको थियो । सोही अनुसार लुम्बिनी प्रदेशसभाले बिहीबार सूचना टाँस गर्दै उनीहरू प्रदेशसभा सदस्य नरहेको जनाएको छ ।

प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै नाटकीय ढंगबाट जसपाका ती चारै जना प्रदेशसभा सदस्य मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्री बनाइएका थिए । प्रदेशसभा बैठक संचालन नभएको अवस्थामा सचिवालयमा सुचना टाँस गरी उनीहरु पदमुक्त भएको जानकारी गराइएको सचिव दुर्लभ कुमार पुन मगरले बताए । 

जसपा केन्द्रिय कार्यकारीणी समितिको निर्णय बमोजिम लुम्बिनी प्रदेश समितिबाट ती चारै जनालाई प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट पदमुक्त गरेको सुचना प्रदेश सभा सचिवालयमा प्राप्त हुन आएकोले पद मुक्त भएको सुचना प्रकाशित गरिएको सचिव पुनमगरले जानकारी गराए ।