
बिहिवार , बैशाख १६, २०७८
बुटवल, १६ वैशाख ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले चार जना सांसद हटाउनु षडयन्त्र भएको बताएका छन् । उनले बिहीबार साढे १ बजे जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरद्वारा सांसदहरुलाई कारवाही नगरिएको भन्ने पठाइएको आधिकारिक पत्रको वेवास्ता गरिएको प्रतिक्रिया दिए ।
अध्यक्ष ठाकुरद्वारा पठाइएको पत्रलाई वेवास्ता गरी एकतर्फी ढंगले सांसद पदबाट हटाइएको सूचना टांस गरिएको उनको भनाइ छ । ‘लुम्बिनी प्रदेशसभाका सभामुखलाई पठाइएको पत्रलाई वेवास्ता गरियो, अर्को पत्रको आधारमा सांसद पद हटाइएको सूचना जारी गरिएकाले कानूनी उपचारतर्फ जान बाध्य हुनेछौं, ’खबरपात्रोसंग उनले भने ।
जसपाका दुईतिहाई प्रदेशसभा सदस्यको सामुहिक निर्णयबाट सरकारमा सहभागी भएको र संसदीय दलको नेता समेत आफुलाई चयन गरिएको जानकारी गराउँदा गराउँदै पनि आफुहरुलाई पदमुक्त गरिएको भन्नू प्रदेशसभाको गलत कार्य भएको पाण्डेयले बताए । उनले प्रदेशसभाको यो निर्णय आफुहरुलाई मान्य नभएको बताए ।
बिहीबार दिउँसो लुम्बिनी प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय कुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी र पदमुक्त भएको जानकारी गराएको थियो । २०७८ वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलले जसपाका चार सांसदलाई मन्त्री बनाएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij