२०८२, चैत्र ११ गते

Mar 25 2026 | २०८२, चैत्र ११ गते

सबैको जित हुने गरी कांग्रेस अघि बढ्नुपर्छ : डा. शेखर कोइराला

बिहिवार , माघ १, २०८२

  • 505
    Shares
  • 505
    Shares
  • काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै अब आसन्न निर्वाचनमा एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। बुधबार सार्वजनिक गरेको वक्तव्यमा उनले कांग्रेसभित्र देखिएको अन्तरविरोध र परिस्थितिलाई “नियतिको कठोर सत्य” का रूपमा व्याख्या गरेका छन्।

    डा. कोइरालाले कांग्रेस एकताका लागि गरिएको भागिरथ प्रयास सफल हुन नसक्नुको दोष कसैलाई नथोपर्ने स्पष्ट पारेका छन्। “को दोषी, को निर्दोष भन्ने बहसले राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्छ,” उनले भनेका छन्, “हामी सबै कहीँ न कहीँ चुकेका छौँ, यसलाई स्वीकार गर्न मलाई कुनै संकोच छैन।”

    पार्टीभित्र र बाहिर देखिएका दृश्य तथा अदृश्य अन्तरविरोध, साथै राजधानी केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रका तानाबानाले कांग्रेस कमजोर बन्न पुगेको उनको भनाइ छ। कांग्रेस एक भएर निर्वाचनमा जाने सबैको इमान्दार चाहना हुँदाहुँदै पनि त्यो सम्भव हुन नसकेको उनले बताएका छन्।

    वक्तव्यमा डा. कोइरालाले नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको स्मरण गर्दै पार्टी इतिहासका कठिन कालखण्डलाई सम्झाएका छन्। विपी कोइरालाले जीउज्यानको बाजी लगाएर लोकतन्त्रका लागि संघर्ष गर्दा पनि केही व्यक्ति र समूह पार्टी छाडेर गएको प्रसंग उल्लेख गर्दै उनले यसलाई विपीले ‘नियतिको खेल’ भनेको स्मरण गराएका छन्। अहिलेको अवस्था पनि त्यही नियतिको कठोर सत्य भएको उनको विश्लेषण छ।

    डा. कोइरालाले आठ दशक लामो कांग्रेस इतिहासको गौरव जोगाउनु अहिलेको प्रमुख जिम्मेवारी भएको बताएका छन्। “यस कठिन घडीमा संगठनात्मक उर्जा प्रस्फुटन भएर मात्र हामीले इतिहास र अग्रज नेताहरूले दिएको जिम्मेवारी पूरा गर्न सक्छौँ,” उनले भनेका छन्।

    उनले कांग्रेस आम कार्यकर्ताले निर्माण गरेको पार्टी भएको उल्लेख गर्दै साझा इतिहास, साझा नेता र शहीदहरू नै पार्टीका प्रेरणाका स्रोत भएको बताए। विगतमा पार्टी विभाजन हुँदा पनि नेपाली जनताले कांग्रेसप्रतिको भरोसा नतोडेको उल्लेख गर्दै उनले जनताको घरदैलोमा पुगेर समृद्धिको यात्राका लागि भोट माग्नुपर्ने अवस्था आएको बताए।

    समय छोटो भए पनि आफू यथासम्भव कार्यकर्ताको घरआँगनमा पुगेर चुनावी अभियानमा सहभागी हुने प्रयास गर्ने प्रतिबद्धता डा. कोइरालाले व्यक्त गरेका छन्। साथै, पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया रोकिने छैनन् भन्दै उनले सबैलाई कांग्रेसमा फर्कन आह्वान गरेका छन्।