
शुक्रवार , बैशाख १७, २०७८
भैरहवा, १७ वैशाख ।
इलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । फरार ३७ वर्षिय यूवराज ढकाल भन्ने भुवन ढकाललाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देही जिल्ला अदालतले २०६४ वैशाख १८ गते दोषी ठहर गर्दै उनलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो । तर हालसम्म ढकाल फरार सूचीमा थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाका अनुसार साविक रुपन्देहीको गजेडी गाविस-१ लौसाबाट बसाईसराई गरी चितवनको गितानगर गाविस-७ बाट नागरिकताको प्रमाणपत्र बनाई विगत माघ महिनादेखि रुपन्देहीको कञ्चन गाउँपालिका-२ हात्तीबजारस्थितम कुखुरा फर्म खोली ढकाल बस्दै आएका थिए । ढकाललाई बिहीबार नियन्त्रणमा लिइ फैसला कार्यान्वयनको लागि रुपन्देही जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
अदालतबाट सजाय पाएका र आपराधिक घटना घटाएर फरार रहेका आरोपीहरुलाई पक्राउ गर्नका लागि रुपन्देही प्रहरीले विशेष प्राथमिकतामा साथ कार्य अगाडी बढाएको छ । जसका लागि प्रहरीको ‘क्याप टोली’ लाई सक्रिय बनाइनुका साथै सबै ईलाका र चौकीका इन्चार्जहरुलाई खोजीमा खटाइएको छ ।
‘फरार रहेका अपराधीहरु समाजमा रहेर पुनः आपराधिक क्रियाकलाप गर्न सक्ने विषयलाई नकार्न सकिदैन’ रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले भने, ‘ जिल्लामा शान्ति सुरक्षा कायम राख्न फरार अपराधीहरुलाई पक्राउ गर्न आवश्यक देखिएकोले पक्राउ गर्न सुरु गरेका हौं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij