सोमवार , माघ ५, २०८२
भैरहवा, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि रुपन्देही जिल्लामा तयारी तीव्र पारिएको छ । माघ २ गते भैरहवामा मुख्य निर्वाचनको अधिकृतको कार्यालय र चारवटा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । जिल्लामा चुनावी चहलपहल बढेको छ ।
रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचन प्रजातन्त्रको मेरुदण्ड भएको बताउनुभयो । उहाँले निर्वाचन राजनीतिक दलको पर्वको रुपमा समेत रहेको बताउनुभयो । निर्वाचन पर्व भए पनि यसलाई बढी भड्किलो र खर्चिलो नबनाउन उहाँले दलहरुलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
आचारसंहिता उल्लंघन गरे दण्डनीय हुने बताउनुभयो । ‘निर्वाचन आचारसंहिता पालना गर्नु÷गराउनु सरकारको पनि प्रमुख कार्य हो, सम्पूर्ण राजनीतिक दलले अक्षरस पालना गरे निर्वाचन शान्तिपूर्ण हुने कुरामा दुईमत रहदैन । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन हामी कटिबद्ध छौं ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा सम्पूर्ण सुरक्षाको व्यवस्था मिलाइएको बताउनुभयो । उम्मेदवार, कर्मचारी र निर्वाचनमा खटिने सम्पूर्ण सरोकारवाला तथा व्यक्तिहरुको सुरक्षाको सम्पूर्ण प्रबन्ध गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचन सफल बनाउन सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो ।
फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा मतदान गर्न पाउने मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सह–सचिव विष्णु थापाले निर्वाचनलाई शान्त र भयरहित रुपमा निष्पक्ष ढंगले सम्पन्न गर्न पार्टीकोतर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।
नेकपा (एमाले) रुपन्देहीका उपाध्यक्ष हितराज पन्थीले निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा राजनीतिक अस्थिरता हुन नदिनका लागि पार्टी सशक्त ढंगले अघि बढेको बताउनुभयो ।
काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सह–सचिव कुल प्रसाद न्यौपानेले नेपाली जनताले चाहेको परिवर्तनका लागि जनताकाबीच जाने बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता फैज अहमद खाँले गणतन्त्रलाई अझ मजबुत बनाउन निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय प्रचारप्रसार विभाग उपप्रमुख महेन्द्र गुप्ता (प्रशान्त) ले देशको विकास, रोजगारी सिर्जना, शिक्षा, कृषि, स्थानीय मुद्दा, भ्रष्टाचारको अन्त्य लगायतका विषय लिएर निर्वाचनमा होमिएको बताउनुभयो ।
जनता समाजवादी पार्टी, नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले उत्पीडित समुदायको अधिकारको लागि आवाज उठाउँदै आएको बताउनुभयो । उहाँले निर्वाचनमा होमिन जसपा नेपाल आतूर रहेको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता शंकर खत्रीले फागुन २१ गते हुने निर्वाचनलाई राप्रपाले उत्सवको रुपमा लिएको बताउनुभयो । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) जनताको हकहितको लागि निर्वाचनमा होमिन गइरहेको बताउनुभयो ।
नेकपा (माओवादी) का नेता शंकर ज्ञवालीले विगतमा पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको पार्टीले पूरा गर्न नसकेका एजेण्डा लिएर निर्वाचनमा जाने बताउनुभयो ।
विभिन्न राजनीतिक दलहरुले उम्मदेवारको टुंगो लगाइसकेका छन् भने केही दल टुंगो लगाउने अन्तिम चरणमा छन् ।
यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालयले आइतबार सिद्धार्थनगर नगरपालिका–५ स्थित बाल मन्दिरमा राजनीतिक दलहरुसँग सर्वदलीय बैठक आयोजना गरेको छ । यही माघ ६ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेकोले मनोयन दर्ताको समय निर्धारण गर्न बैठक आयोजना गरिएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताउनुभयो ।
रुपन्देहीमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् । जिल्लामा ३ लाख २६ हजार ३ सय ११ महिला, ३ लाख ४६ हजार २ सय ३ पुरुष र ९ अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो ।
रुपन्देही क्षेत्र नम्बर १ मा १ लाख ४६ हजार ८ सय २४, २ मा १ लाख ३५ हजार ५०, ३ मा १ लाख ४० हजार ३५, ४ मा १ लाख १६ हजार १ सय ७२ र क्षेत्र नम्बर ५ मा १ लाख ३४ हजार ४ सय ४२ जना मतदाता छन् । रुपन्देहीमा २०९ मतदान स्थल र ७३२ वटा मतदान केन्द्र रहेका छन् ।...
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij