२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

मौका दिनुस्, विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्छौं : कुलमान घिसिङ

सोमवार , माघ ५, २०८२

  • 205
    Shares
  • 205
    Shares
  • काठमाडौं,५ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर आफूहरुलाई दिन आग्रह गर्नुभएको छ । 

    तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पाँच वर्षको लागि नेतृत्व गर्ने जिम्मा दिएमा विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनु भयो ।

    उहाँले गरिबी हटाउन, देशको विकास गर्नको लागि आगामी निर्वाचनमा सही नेतृत्व छनौट गर्न आग्रह गर्नुभयो । आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा लिनुपर्ने उहाँको भनाई छ ।

    उहाँले पाँच वर्षको आफूहरुले काम देखेपछि फेरि जनताले आफँैलाई नै खोज्ने दाबी पनि गर्नुभयो । उहाँले गर्ने सक्ने कामको मात्रै प्रतिवद्धता जनाउनुपर्ने बताउनुहुँदै आफूले बालेको कुरा सधै पूरा गरेको पनि दाबी गर्नुभयो । जनतलाई आफूले कहिल्यै धोका नदिएको र आगामी दिनमा पनि नदिने उहाँको भनाई छ । उहाँले फागुन २१ गते हुने निर्वाचनमा आफूहरुलाई विश्वास गरेर हेर्न आग्रह गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘अव हामी देशको समृद्धितर्फ अगाडी बढ्नुपर्नेछ । देशको समृद्धिको लागी नेतृत्वको जरुरी पर्छ । नेतृत्वको लागि आगामी निर्वाचन धेरै नजिक आएको छ ।

    आगामी निर्वाचन, फागुन २१ को निर्वाचन नयाँ नेतृत्व, सही नेतृत्वलाई छनौट गर्ने एउटा महाअभियानको रुपमा तपाईहरुले लिनुहोला भन्ने म हार्दिक आग्रह गर्दछु । यो ईतिहासको एकदमै ठुलो, एकदमै महत्वपुर्ण अवसरको रुपमा लिनुहोला । यो अवसर गुमायौँ भने फेरि पनि नेपाल पुरानै परिस्थितिमा फर्किन सक्दछ । मैले कहिले पनि कसैलाई धोका दिएको छैन ।

    धोका दिने पनि छैन । जे बोल्छु, त्यो गर्छ । जे गर्छु, त्यही बोल्छु । हिजोको दिनमा जे बोलिन्छ, त्यो गरिँदैन । जे गरिन्छ, त्यो बोलिँदैन । त्यो भएको हुनाले यो डेलिभरी गर्नुपर्ने, परिणाम दिनुपर्ने कुरा छ, त्यो परिणाम दिनको लागि सही नेतृत्व आवश्यक छ । तपाईहरुले अब आगामी ५ वर्षको लागि तपाईहरुले एउटा अवसर दिनुहोस् ।

    त्यो अवसर हामीले देशको समृद्धिको लागि नेपाली जनताको मन मस्तिष्कमा उज्यालो छाउनको लागि, गरिबी हटाउनको लागि र विदेशमा गएर टन्टलापूर घाममा काम गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नको लागी हामी प्रतिवद्ध भएर लाग्नेर्छौँ । ५ वर्ष भित्र एउटा यस्तो परिणाम दिनेछौँ र त्यसपछिको सरकार, नेतृत्व तपाईहरु नै आउनुस् भनेर तपाईंहरुले नै भन्ने वातावरण हामीले बनाउनेछौँ ।’

    उहाँले आगामी निर्वाचनबाट पनि पुरानै शक्तिहरुको उदय भए देश झन अधोगतितिर जाने बताउनु भयो । देशलाई सही ट्रयाकमा ल्याउन सही र नयाँ नेतृत्वको जरुरी रहेको उहाँको भनाई छ ।