बिहिवार , माघ ८, २०८२
भैरहवा, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले यसपटक एमालेले जिल्लाका पाँचवटै क्षेत्रमा निर्वाचन जित्ने दावी गर्नुभएको छ । उहाँले जिल्लाका सबै क्षेत्रमा जितेर एमालेले रुपन्देहीमा नयाँ इतिहास कायम गर्न लागेको बताउनुभयो ।
एमाले निर्वाचन क्षेत्र नम्बर ३ (१), रुपन्देहीको बिहीबार भैरहवामा भएको विस्तारित बैठकमा उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा रुपन्देही–३ मा धेरै मतान्तरले जित्ने बताउनुभयो ।
यसअघि २०७९ सालमा सम्पन्न निर्वाचनमा आफू रुपन्देही–५ बाट १० मतान्तरले निर्वाचित भएको बताउनुभयो । उहाँले निर्वाचन एउटा महायज्ञ भएको बताउनुभयो । अहिलेको संविधानलाई संशोधन गर्नका लागि पनि एमालेको बहुमत आवश्यक रहेको उहाँको भनाइ छ ।
त्यस्तै पार्टीको केन्द्रीय सदस्य गुमादेवी आचार्यले मुलुकको विकास र समृद्धि एमाले नेतृत्वको सरकारबाट मात्रै सम्भव भएकोले एमालेका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।
पार्टीको रुपन्देही जिल्ला सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३(१) को संयोजक उमा अधिकारीले तिलोत्तमा नगरपालिकाको नगरप्रमुख (मेयर) हुँदा बासुदेव घिमिरेको नेतृत्वमा तिलोत्तमामा धेरै विकासका कार्य भएको बताउनुभयो । उहाँले रुपन्देहीले नयाँ इतिहास रच्न लागेको बताउनुभयो ।
एमाले क्षेत्र नम्बर ३ का संयोजक नर बहादुर घर्तीले यो क्षेत्रमा पार्टीले विकासप्रेमी नेता बासुदेव घिमिरेलाई उम्मेदवार बनाएको बताउनुभयो । उहाँले एमालेले मत दिन जनता आतुर रहेको बताउनुभयो ।
पार्टीको सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले एमाले नेतृत्वमा सरकार बने मात्रै मुलुक समृद्ध हुने भएकाले पार्टीले अघि सारेका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताउनुभयो । उहाँले आफ्नै चुनाव चिन्हमा भोट हाल्न नपाएको गुनासो गर्ने नेता–कार्यकर्ताहरुको माग पनि अब सम्बोधन भइसकेको बताउनुभयो । अध्यक्ष थापाले विकासप्रेमी नेता बासुदेव घिमिरेलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।
एमाले जिल्ला सदस्य श्री रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
