शुक्रवार , माघ ९, २०८२
रुपन्देही, ९ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सचिवालय सदस्य देवेन्द्र पौडेल (सुनिल) ले पश्चिम नवलपरासी क्षेत्र नम्बर २ को विकास नै आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभएको छ ।
नेकपाको तर्फबाट क्षेत्र नम्बर २ को उम्मेदवार रहनुभएका पौडेलले बिहीबार परासीस्थित परासी प्रेस क्लवले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस क्षेत्रबाट आफूले विजयी हासिल गरेमा विगतमा भन्दा राम्रो विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले चुनावी आश्वासन नभइ विकास गरेरै देखाउने जिकिर गर्नुभयो ।
यस क्षेत्रको शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा विशेष विकास गर्नुपर्ने देखिएको बताउँदै नेता पौडेलले मधेशी, थारु, उत्पीडित तथा पिछडिएका समुदायको आवाज सशक्त ढंगले उठान गर्न पनि आफ्नो जीत आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पूर्व शिक्षामन्त्री समेत रहनुभएका पौडेलले विगतमा पनि यस क्षेत्रका विभिन्न विद्यालयहरु तथा क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा बजेट व्यवस्थापन गरेको स्मरण गर्नुभयो । नवलपरासी क्षेत्र नम्बर २ मा चक्रपथ निर्माण, भगवान् गौतम बुद्धसँग जोडिएका महत्वपूर्ण स्थलहरुको विकास, सीमा समस्या लगायत जनताका समस्यालाई आफूले प्राथमिकताका साथ अगाडि बढाउने उहाँले बताउनुभयो ।
केन्द्रीय निकायहरुमा रहेको पहुँचलाई विस्तार गर्दै यस क्षेत्रका आवश्यकता अनुसारका विकास निर्माण, जनसवालका विषय तथा कानून निर्माणमा सशक्त भूमिका निर्वाह गर्न पनि आफ्नो उम्मेदवारी रहेको नेता पौडेलले उल्लेख गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
