२०८२, माघ १० गते

Jan 24 2026 | २०८२, माघ १० गते

स्वर्गीय शरमिष्ठा क्षेत्री पन्त स्मृति अक्षय कोष स्थापना

शनिवार , माघ १०, २०८२

  • 592
    Shares
  • 592
    Shares
  • भैरहवा, १० माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ स्थित सि.बि. पब्लिक हाई स्कूलकी संस्थापक प्राचार्य स्वर्गीय शरमिष्ठा क्षेत्री पन्तको स्मृतिमा ‘स्व शरमिष्ठा क्षेत्री पन्त स्मृति अक्षय कोष स्थापना तथा उद्घाटन गरिएको छ ।

    विद्यालयमा अध्ययनरत जेहेन्दार, मेहनती तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई लक्षित गरी स्थापना गरिएको उक्त अक्षय कोषबाट हरेक वर्ष सरस्वती पूजाको अवसरमा कार्यविधि तयार गरी छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनम क्षेत्री न्यौपाने तथा पूर्वअध्यक्ष एवं वरिष्ठ समाजसेवी दीपक क्षेत्री न्यौपानेले आफ्नो वैवाहिक जीवनको ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) को अवसरमा रु. १ लाख रकम प्रदान गरी अक्षय कोष स्थापना गर्नुभएको हो। उहाँहरूले आगामी वर्षहरूमा पनि कोषमा नियमित रूपमा रकम थप्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुनम क्षेत्री न्यौपाने र दीपक क्षेत्री न्यौपाने स्व. शरमिष्ठा क्षेत्री पन्तका दिदी–भिनाजु हुनुहुन्छ ।

    त्यस्तै संस्थापक प्राचार्यको बहिनी तथा उमस्रिपी कलेज, सिलाङका प्रिन्सिपल नम्रता क्षेत्री जोशी र ज्वाइँ तथा एन.इ.एच.यु. विश्वविद्यालयका प्राध्यापक एवं वैज्ञानिक डा. सन्ताराम जोशीले समेत शुक्रबार उक्त कोषमा रु. ५० हजार सहयोग गर्नुभएको छ । उहाँहरुले आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अक्षय कोषको संरक्षकमा पुनम क्षेत्री न्यौपाने र दीपक क्षेत्री न्यौपाने रहनुभएको छ ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, सिद्धार्थनगर नगरपालिकाका पूर्व उपप्रमुख उमा काफ्ले, विद्यालय सञ्चालन समितिका अध्यक्ष लेखनाथ भण्डारी लगायतको बोल्नुभएको थियो ।

    विद्यालयका प्रिन्सिपल उदय कुमार मल्लिकको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा पूर्व विद्यार्थीहरूको उपस्थिति थियो ।