२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरुस्त भएर निस्कियौँ : घिसिङ

मंगलवार , माघ १३, २०८२

  • 901
    Shares
  • 901
    Shares
  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनैपनि दलसँग विलय हुन नदिइने बताउनुभएको छ ।

    मंगलवार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि बताउनु भयो ।

    रास्वपासँगको एकताको १२ दिनको समय पार्टी ‘कोमा’ मा पुगेको टिप्पणी गर्दै उहाँले अहिले तन्द्रुस्त भएर निस्किएको बताउनु भयो । उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका १२१ जना उम्मेदवारलाई जिताउन समेत अपिल गर्नुभयो । उहाँले निर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरु तडकभडकमा लाग्नु दुःखद् भएको बताउनु भयो । 

    घिसिङले भन्नुभयो, ‘पार्टी गठन भएको ३ महिनामा पनि पुगेको छैन । तर हामी त्यो बीचमका कोमामा पनि गयौँ । त्यस कारण केही समस्या आयो । अहिले हामी तन्दुरुस्त भएर निस्कियौँ ।

    अब हामी कुनैपनि दलसँग मिसिएर उज्यालो पार्टीको नाम र चुनाव चिन्ह विलय हुन दिने छैनौँ । अरु पार्टी यो दलमा मिसिन सक्छन् तर हामी मिसन जाँदैनौँ ।’

    उहाँले आफू विद्युत प्राधिकरणको कार्यकारी प्रमुख हुँदा प्राप्त उपलब्धीबारे व्याख्या गर्दै मुलुकको समग्र विकासका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको जिकिर पनि गर्नुभयो ।