बुधवार , माघ १४, २०८२
रुपन्देही, १४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा), नेपाल शुद्धोदन गाउँपालिका, रुपन्देहीले अगुवा नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई थप मजबुत बनाउँदै फागुन २१ गत निर्वाचनमा जसपा नेपाललाई विजयी गराउन सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेयले मुलुकमा युवाको सहभागीता, रोजगारी सिर्जना र खेलकुद क्षेत्रको समग्र विकासका लागि जसपा नेपालले स्पष्ट नीति लिएको बताउनुभयो । उहाँले जनताको अधिकार, सुशासन र समावेशी विकासको एजेण्डा बोकेको जसपा नेपाललाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताउनुभयो ।
जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवले पार्टी संगठन निर्णायक मोडमा पुगेको उल्लेख गर्नुभयो । उहाँले आगामी निर्वाचनमा जसपा नेपाललाई जिताउनु सबै नेता तथा कार्यकर्ताको साझा जिम्मेवारी भएको बताउनुभयो ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रीनिवास यादवले फागुन २१ गतेको निर्वाचन जनताको पक्षमा परिवर्तन ल्याउने अवसर भएको बताउनुभयो । उहाँले विकास, सुशासन र अधिकार सुनिश्चित गर्न जसपा नेपालको विकल्प नरहेको दावी गर्नुभयो ।
पार्टीको नेपाल लुम्बिनी प्रदेशका कोषाध्यक्ष बच्चुलाल केवटले समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अधिकारका पक्षमा निरन्तर संघर्ष गर्दै आएको पार्टी जसपा नेपाल भएको बताउनुभयो ।
जसपा लुम्बिनी प्रदेश सदस्य सुरेन्द्र धवलले फागुन २१ गतेको निर्वाचन निर्णायक हुने बताउँदै जसपा नेपालले उठाएका एजेण्डा जनताको अधिकार र पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्नुभयो ।
जसपा नेपाल क्षेत्र नम्बर ३ का क्षेत्री अध्यक्ष तौलेश्वर लोधले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई निर्णायक अवसरको रूपमा लिन आग्रह गर्नुभयो ।
जसपा नेपाल रुपन्देहीका सचिव विष्णु अधिकारीको स्वागत तथा जिल्ला सह–सचिव जय शंकर पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
