२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

‘गौतमबुद्ध विमानस्थल सञ्चालन र फोहोरमैलाको उचित व्यवस्थापन पहिलो प्राथमिकता’

बुधवार , माघ १४, २०८२

  • 739
    Shares
  • 739
    Shares
  • भैरहवा, १४ माघ । नेकपा (एमाले) बाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले क्षेत्र नम्बर ३ सँग जोडिएको महत्वपूर्ण परियोजना गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल भएको बताउनुभएको छ । विगतमा ठूलो धनराशी खर्चेर विमानस्थलको निर्माण कार्यसम्पन्न भए पनि सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो ।

    मंगलबार भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै घिमिरेले विमानस्थल सञ्चालन भए आर्थिक क्षेत्र अझ चलायमान हुने बताउनुभयो । ‘यहाँका नागरिक तथा उद्योगी–व्यवसायीको माग अनुसार विमानस्थल त बन्यो । तर, लामो समयदेखि सञ्चालन हुन सकेन । उहाँले भन्नुभयो–‘तत्कालिन समयमा यहाँका उद्योगी–व्यवसायी नागरिकले विमानस्थल नियमित सञ्चालनका लागि आन्दोलन गर्नुपरेको थियो । हामी पनि त्यो आन्दोलनमा सहभागी भयौं । संसद्मा र अरु फोरममा धेरैपटक आवाज उठायौं । जसको परिणामस्वरुप आशिंक रुपमा सञ्चालन हुने वातावरण निर्माण भयो ।’

    अहिले पनि जुन रुपमा सञ्चालन हुनुपर्ने त्यसअनुसार विमानस्थल सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । आफू निर्वाचित भएपछि आफ्नो पहिलो काम भनेकै सरकारसँग र संसद्मा विमानस्थलको बारेमा जोडदार रुपमा आवाज उठाउने रहेको घिमिरेले बताउनुभयो । विगतमा भन्दा धेरै भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । ‘विमानस्थललाई लक्षित गरेर पर्यटन क्षेत्रमा करिब १ खर्ब लगानी भएको छ । विमानस्थल सञ्चालन नहुँदा विभिन्न उद्योग, व्यवसायमा भएका लगानी धरासायी भएको छ, उहाँले भन्नुभयो–‘जतिसक्दो छिटो विमानस्थल सञ्चालन गराउनका लागि पहल गर्ने मेरो पहिलो काम हुनेछ ।’

    लामो समयदेखि फोहारमैला व्यवस्थापन हुन नसकेको उहाँले बताउनुभयो । शहर सफा भए पनि यहाँ उत्पादित फोहोरको उचित व्यवस्थापन हुन नसकेको उहाँले बताउनुभयो । बेलहिया नाका भन्दा केही अगाडि आएपछि फोहोरको डुंगर देखिने कुरा किमार्थ स्वीकार्य नहुने उहाँले बताउनुभयो । पालिकासँग समन्वय गरेर फोहोरमैलाको उचित व्यवस्थापनका कार्य अघि बढाइने उहाँको भनाइ छ । ‘हिजो भन्दा धेरै काम भएको छ । आहा लुम्बिनी, आहा भैरहवा भन्ने गरी काम गर्नुपर्छ । उहाँले भन्नुभयो–‘बेलहिया प्रवेश गरेपछि आहा लुम्बिनी भन्ने वातावरण बनाउनका लागि भूमिका निर्वाह गर्नेछु ।’

    रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित पूर्व प्रतिनिधि सभा सदस्य समेत रहनुभएका घिमिरेले फागुन २१ गते हुने निर्वाचनमा एमालेले जित्ने दावी गर्नुभयो । ‘म यो क्षेत्रको लागि नयाँ होइन । विगतमा गरेका अनुभव, स्थानीय सकारको नेतृत्व, राजनीतिकर्मी, संघीय सद्मा निर्वाह गरेको भूमिकाबारे यहाँका मतदातालाई राम्रोसँग थाहा छ, ’उहाँले भन्नुभयो–‘म किसानको छोरा हुँ । किसानको मर्का बुझेको छु । एउटा सानो व्यवसायी पनि भएकोले उद्योगी–व्यवसायीको समस्या नजिकबाट नियालेको छु ।’

    आफूले विगतमा तीन वर्ष दक्षिण कोरियामा श्रम गरेकाले विदेशमा बसेर नेपाली नागरिकले कसरी पसिना बगाएर रेमिट्यान्स पठाएका छन् भन्ने कुरा राम्रोसँग बुझेको उहाँले बताउनुभयो ।

    तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहनुभएका घिमिरेले तिलोत्तमालाई विश्वसामू चिनाउन आफ्नो टीम सफल भएको बताउनुभयो । ‘सरफाई र हरियाली अभियान चलायौं । नगरपालिका उत्कृष्ट भइ अवार्ड प्राप्त गरेको छ । केही गरेका छौं भन्ने लागेको छ, ’उहाँले भन्नुभयो ।

    संघीय संसद्को हैसियतले जनताका आवाज निरन्तर उठाएको उहाँको भनाइ छ । अन्य प्रतिष्पर्धीको बारेमा आफूले केही नभन्ने उहाँले बताउनुभयो । स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी क्षेत्र नम्बर ३ का अधुरो काम पूरा गर्न नेतृत्व उहाँले बताउनुभयो । ‘प्रतिवद्धतापत्रमा पाँचवर्षमा गर्न सकिने काम मात्र राख्छौं । पाँच वर्षभित्र कृषि, पर्यटन, उद्योग, व्यवसाय, शिक्षा लगायतका विकासका लागि काम गर्नेछौं, ’ उहाँले भन्नुभयो । किसानलाई मलखादको समस्या रहेको र मलखादमा अनुदान दिएर मात्र नहुने घिमिरेले बताउनुभयो ।

    ‘पटकपटक सदनमा मलखाद्य कारखानाको विषय उठाएको छु । नेपालमै मलखाद उद्योग कारखाना स्थापना गर्ने नीति बन्यो । तर, कार्यान्वयन हुन सकेन । उद्योग स्थापना भए किसानलाई चाहिने मलखाद समयमै उपलब्ध गराउन सकिन्छ । यसका लागि निरन्तर आवाज उठाइरहने प्रतिवद्धता व्यक्त गर्दछु, ’उहाँले भन्नुभयो ।