२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

रुपन्देही–५ मा एमालेबाहेक मेरो कोही प्रतिष्पर्धी छैन : पूर्वमन्त्री यादव

बिहिवार , माघ १५, २०८२

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, १५ माघ । पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’ ले रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) को उम्मेदवार नै आफ्नो प्रमुख प्रतिष्पर्धी भएको बताउनुभएको छ । उहाँले आफूले एमालेबाहेक कसैलाई प्रतिष्पर्धी नदेखेको बताउनुभयो ।

    रुपन्देही क्षेत्र नम्बर ५ मा जनमत पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादवले पत्रकार शंकर पाण्डेसँगको कुराकानीका क्रममा भन्नुभयो ‘मलाई जुन अनुभुति भइरहेको र लागिरहेको छ र जनताको भनाइ अनुसार मेरो प्रतिष्पर्धा हुने भनेको हो एमालेसँग हो, अरु कोहीसँग हुँदैन ।’उहाँले केही नयाँ काम गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले नयाँ उत्साहका साथ लागेको र जनताले आफूलाई जिताउने पूर्ण आशा र भरोसा रहेको बताउनुभयो । यादव २०६४ सालमा रुपन्देही–३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रुपन्देही–५ मा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाएको छ ।

    त्यस्तै नेपाली काँग्रेसले पूर्व अर्थराज्यमन्त्री भरत कुमार शाह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वमन्त्री मोहम्मद वकील मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तौफिक अहमद खान, जनता समाजवादी पार्टी (जसपा), नेपालले मोहम्मद वहिद फकिर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मिन प्रसाद घिमिरेलार्य उम्मेदवार बनाएको छ । यो क्षेत्रमा राजनीतिक दल र स्वतन्त्रबाट गरी २७ जना उम्मेदवार रहेका छन् ।