शुक्रवार , माघ १६, २०८२
भैरहवा, १६ माघ । लुम्बिनी प्रदेशमा कार्यरत विकास बैंकहरुबीच आपसी समन्वय, सहकार्य तथा साझा सरोकारका विषयमा सामूहिक पहल गर्ने उद्देश्यले डेभलपमेन्ट बैंक एशोसियशन (डीबीएन) लुम्बिनी प्रदेश गठन गरिएको छ ।
रुपन्देहीको बुटवलस्थित ज्योति विकास बैंक लिमिटेडको प्रदेश कार्यालयमा बिहीबार सम्पन्न प्रदेश/क्षेत्रीय प्रबन्धकहरुको बैठकले उक्त एशोसिशयन गठन गरेको हो । उक्त बैठकमा प्रदेशका विभिन्न विकास बैंकका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।
बैठकले आगामी दुई वर्षे कार्यकालका लागि गरिमा विकास बैंक लिमिटेडका लेखनाथ भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सह-संयोजकमा महालक्ष्मी विकास बैंकका गौतम गुप्तालाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा ज्योति विकास बैंक लिमिटेडका कपिल न्यौपाने, शाइन रेसुंगा विकास बैंकका विष्णु बहादुर थापा, कामना सेवाका हेमन्त बाबु आचार्य, सांग्रिलाका आलोक पण्डित र लुम्बिनी विकास बैंकका आलोक प्रसाद शेरचन रहनुभएको छ ।
नवगठित संस्थाले लुम्बिनी प्रदेशमा विकास बैंकहरुबीच सहकार्य सुदृढ गर्दै बैंकिङ क्षेत्रका साझा समस्या पहिचान, वित्तीय पहुँच विस्तार तथा प्रदेशको आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको डीबीएन प्रदेश सह-संयोजक गौतम गुप्ताले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij