२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा घोषणापत्र सार्वजनिक

शनिवार , माघ १७, २०८२

  • 886
    Shares
  • 886
    Shares
  • भैरहवा, १७ माघ । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी पार्टीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि १० बुँदे ‘नागरिक सम्बोधनपत्र’ सार्वजनिक गरेको हो ।

    घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष केशव सूर्यवंशीले व्यक्ति प्रधान भन्दा पनि नीति प्रधान भए बहस गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । नयाँ दलहरुप्रति लक्षित गर्दै उहाँले भन्नुभयो–देशले अहिले पात्र होइन, एजेण्डा खोजेको छ । एजेण्डा महत्वपूर्ण कुरा हो, पात्र होइन ।’

    उहाँले अहिले निर्वाचन प्रणाली र राजनीतिक अवस्थामा कुनै पनि दलको स्पष्ट बहुमत आउने संकेत नदेखिएको बताउनुभयो । कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्थामा निर्वाचनपछि बन्ने सरकारमा राष्ट्रियताको पक्षमा उभिने दलहरु एक ठाउँ उभिनुको विकल्प नभएको उहाँले बताउनुभयो ।

    राष्ट्रिय जनमुक्ति पार्टीले देशका विभिन्न १७ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी महासचिव टोप अस्लामी मगरले बताउनुभयो । उहाँले ‘हात मिलाएको’ चुनाव चिन्हमा मतदानका लागि आह्वान गरे । राष्ट्रिय जनमुक्ति पार्टीले समानुपातिकका लागि १२ जना उम्मेदवारको नाम बन्दसूचीमा पठाएको छ । 

    जनमुक्तिले जारी गरेको घोषणापत्रमा संघीयता, शासकीय स्वरुप, औद्योगिक विकास तथा रोजगार, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य लगायतका विषयहरुलाई समेटिएको छ ।

    पार्टीले विगतका निर्वाचनमा जारी गरेका घोषणापत्रहरुको समेत स्वामीत्व लिने प्रतिवद्धतासहित भ्रष्टाचारलाई देशद्रोह सरहको घोषणा गर्ने, दलहरुले घोषणापत्र अनुसार नगरे सोविरुद्ध कानूनी उपचारका लागि न्यायालय जान पाउने व्यवस्था गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सबै नेपालीको स्वास्थ्य बीमा लगायतका विषयलाई पार्टीका केन्द्रीय सचिव तथा रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोजीब अलीले बताउनुभयो ।