२०८२, माघ १८ गते

Feb 01 2026 | २०८२, माघ १८ गते

एमालेको विरोध गर्नेहरूले पनि रुपन्देहीमा विकास भएन भन्न सक्दैनन् : विष्णु पौडेल

आइतवार , माघ १८, २०८२

  • 400
    Shares
  • 400
    Shares
  • बुटवल, १८ माघ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रुपन्देहीको विकासको अध्ययन गर्न योजनाविद् र विज्ञ टोलीलाई आग्रह गर्नुभएको छ । रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका पौडेलले आइतबार बुटवल उपमहानगरपालिका वडा नम्बर ५ मा निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन कार्यक्रममा यस्तो बताउनुभएको हो । ‘रुपन्देहीको विकास देशमै नमुना भएको हाम्रो ठहर छ, यसबारे योजनाविद्हरूले गहिरो अध्ययन गर्न आवश्यक छ,’उहाँले भन्नुभयो ।

    उहाँले विकासलाई भावनात्मक नारामा सीमित नगरी अध्ययन, योजना र प्राथमिकतामा आधारित बनाइने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘हामी विकासलाई नारा होइन, नतिजाबाट प्रमाणित गर्छौं, त्यसैले रुपन्देहीको समग्र विकासबारे विज्ञ योजनाविद्हरूले अध्ययन गर्नुपर्छ ।’पौडेलले आफू जनताको सेवक भएर काम गर्ने स्वभावको भएको उल्लेख गर्दै जनतासँगको सम्बन्धको महत्वलाई बुझेरै राजनीति गरिरहेको बताउनुभयो । ‘जनताको सेवक भएर काम गर्नु मेरो स्वभाव हो, रुपन्देहीबासीको सेवाका लागि म सधै तयार छु,’उहाँले भन्नुभयो ।

    रुपन्देही–२ लाई शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरको केन्द्रका रूपमा विकास गरिने उहाँको भनाइ छ । ‘हामी यो क्षेत्रलाई सबैभन्दा विकसित र व्यवस्थित जीवनशैलीको बस्ती बनाउँछौं, यसका लागि स्पष्ट प्राथमिकता निर्धारण गरेर अघि बढ्छौं,’पौडेलले भन्नुभयो । विकासका सूचकका आधारमा आगामी दिनमा रुपन्देही–२ नै सबैभन्दा ठूलो फड्को मारेको क्षेत्र ठहर हुने उहाँको दावी छ ।

    प्रक्रियामा रहेका विकास योजनाहरू समयमै सम्पन्न गर्ने र आवश्यकताअनुसार नयाँ योजनाहरू सुरु गरिने पौडेलले जानकारी दिनुभयो । ‘वडास्तरमै सडक, खानेपानी, ढल, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विकासका काम पूरा गर्ने गरी अगाडि बढ्छौं,” उहाँले भन्नुभयो । एमालेले काम गरेर देखाउने पार्टी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘पार्टीको विरोध गर्नेहरूले पनि यहाँ विकास भएन भनेर भन्न सक्दैनन् ।’

    कार्यक्रममा उनले तिनाउ नदी नियन्त्रण गरी बस्ती सुरक्षित गर्नुपर्ने स्थानीयको माग पूरा गरिने प्रतिबद्धता पनि जनाउनुभयो । साथै सहुलियतपूर्ण ऋण लगानीमा करिब साढे २ अर्ब रुपैयाँ लागतमा सिग्नेचर पुल निर्माणको काम अघि बढेको जानकारी दिनुभयो । ‘अन्तर्राष्ट्रियस्तरका कन्सल्टेन्टहरूले पुलको डिजाइन गरिरहेका छन्, डिजाइन सकिएपछि टेण्डर प्रक्रिया अघि बढ्छ,’उहाँले भन्नुभयो–‘यसका लागि बजेटको कुनै अभाव छैन, स्रोत सुनिश्चित भइसकेको छ ।’

    पौडेलका अनुसार निर्माण हुने सिग्नेचर पुलमा पाँच मिटर (१६ फिट) चौडा फुटपाथ, आकर्षक लाइटिङ प्रणाली रहनेछ । ‘यो पुल केवल आवतजावतको साधन होइन, हरेक साँझ र राति ८–१० हजार मानिसले अवलोकन गर्ने सहरको पहिचान बन्नेछ,’उनले भने ।