२०८२, माघ १९ गते

Feb 02 2026 | २०८२, माघ १९ गते

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीले बनाएको कार्ययोजनामा के-के छ ?

सोमवार , माघ १९, २०८२

  • 427
    Shares
  • 427
    Shares
  • भैरहवा, १९ माघ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । संगठनको १२ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले शुक्रबार नवलपरासीको त्रिवेणी धामस्थित होटल ग्राण्ड त्रिवेणीमा गोष्ठी सम्पन्न गरेको हो ।

    कार्यशालाले वार्षिक कार्ययोजना तय गर्नुका साथै विभिन्न उपसमितिहरु समेत गठन तथा संयोजकहरु समेत तोकेको संगठनका अध्यक्ष राजेश महोत्राले बताउनुभयो । लुम्बिनी प्रदेश पर्यटन विकास परिषदको बोर्ड सदस्य समेत रहनुभएका अध्यक्ष महोत्राका अनुसार कार्यशाला गोष्ठीले १५ बुँदे कार्ययोजना बनाएको छ ।

    WhatsApp Image 2026-02-01 at 12.34.31 PM.jpeg

    के–के छन् कार्ययोजनामा ?

    संगठनले पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनका लागि नयाँ उपायहरुको खोजी गर्ने भएको छ । रपन्देहीमा महाधिवेशन तथा सभा सम्मेलन गर्न आउने इच्छुक देशभरीका संघसंस्थालाई सहुलियत तथा छुटमा होटल उपलब्ध गराउन प्रयास गर्ने अध्यक्ष महोत्राले बताउनुभयो । उहाँले स्थानीय तह तथा अन्य व्यवसायीहरु तथा संघ–संस्थाहरुसँग सहयोग लिइ होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनले स्वागतको वातावरण बनाउने जानकारी दिनुभयो ।

    त्यस्तै पर्यटकीय गन्तव्यहरुबारे जानकारी दिन विमानस्थल, बेलहिया नाका लगायतका ठाउँहरुमा होर्डिङ बोर्ड राख्ने र सौन्दर्यीकरणमा सहभागीता जनाउने उहाँले बताउनुभयो ।
    अध्यक्ष महोत्राका अनुसार विभिन्न पर्यटकीय गन्तव्यहरु राखेर होटलको प्याकेज बनाएर प्रचारप्रसार गर्ने कार्ययोजनामा समावेश गरिएको छ । त्यस्तै सिद्धार्थ सडक खान महोत्सव भव्य रुपमा दुई दिन आयोजना गर्ने निर्णय गरिएको छ ।

    कार्यशालाले होटल, क्याफे, क्याटरिङ व्यवसायी प्रतिष्ठान समन्वय उपसमिति, रात्रीकालिन व्यवसाय र रेष्टुरेण्ट उपसमिति गठन गरेको संगठनका महासचिव बाल बहादुर घिमिरे (सुनिल)ले बताउनुभयो । त्यस्तै नेपाल पर्यटन बोर्ड, पर्यटन विकास परिषदसँग समन्वय गरी तालिम, गोष्ठी तथा भ्रमण कार्यक्रम गर्ने, विश्व पर्यटन दिवस भव्य रुपमा मनाउने, संगठनको लोगो राखेर भैरहवा, लुम्बिनी, बुद्ध सर्किट तथा अन्य पर्यटकीय गन्तव्यहरुको गाईड म्याप र फोटो बनाइ सहुलियत दरमा व्यवसायिक प्रतिष्ठानलाई उपलब्ध गराइने महासचिव घिमिरेले जानकारी दिनुभयो ।

    त्यस्तै तारे होटललाई वर्गीकरण गर्ने, रैथाने खाना बनाउने रेष्टुरेण्टहरुको पहिचान गरी उत्कृष्ट रेष्टुरेण्ट व्यवसायीलाई पुरस्कृत गरिने, गेष्ट ट्र्याकिङ सफ्टवेयर क्रेडिट बनाएर जाने अतिथिको विवरण अर्को होटलले हेर्न सक्ने, पर्यटक ठगिएको अवस्थामा सहजीकरण गर्ने कार्ययोजनामा समावेश गरिएको छ ।

    त्यस्तै गरी व्यवसायीहरुलाई विभिन्न प्रदेशका पर्यटकीय गन्तव्यहरुमा भ्रमण गराउने र अन्य प्रदेशलाई समेत पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने उद्देश्यले निम्तो गर्ने, तालिम तथा अन्तरक्रियाको आयोजना गर्ने, विभिन्न चाडपर्वमा शुभकामना आदानप्रदान, वनभोज कार्यक्रम, व्यवसायीका समस्या बुझेर समाधानका लागि पहल र सहजीकरण, संगठनका लागि जग्गा खरीद गरिने कार्यक्रम कार्ययोजनामा उल्लेख गरिएको संगठनले जनाएको छ ।