बुधवार , माघ २१, २०८२
बुटवल, २१ माघ । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार गरेको छ । स्वदेशी वस्तु उत्पादन गर्ने र यसको प्रवद्र्धन गर्ने उद्योगहरुको छाता संस्थाको रुपमा पहिचान बोकेको संस्थामा नयाँ नेतृत्व आएसँगै आफ्नो कार्यकालमा अघि सारिने तत्कालीन र दीर्घकालीन योजना बनाउने र यसमै आधारित रहेर काम गर्नका लागि कार्ययोजना बनाइएको संघले जनाएको छ ।
उद्योग वाणिज्य मन्त्रालयमा लामो समय रहनुभएका विज्ञ एवं नेपाल सरकारका पूर्व सचिव डा.तोयानारायण ज्ञवालीको सहजीकरणमा संघले नयाँ नेतृत्वमा आएको समिति, सल्लाहकारहरु, पूर्वअध्यक्ष तथा यसको कार्यान्वयन गर्ने कर्मचारीहरुका बीचमा तीनदिने कार्ययोजना कार्यशाला राखेर यसलाई अन्तिम रुप दिइएको संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको पोखरामा माघ १५ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको यो कार्ययोजनामा संघमा नयाँ अधिवेशनबाट निर्वाचित नेतृत्वले आगामी २ वर्षमा गरिने योजनालाई संस्थागत गरेर आएको उहाँले बताउनुभयो ।
कार्ययोजनाको जिम्मेवारी लिनुभएका पूर्व सचिव डा. तोयानारायण ज्ञवालीले यसरी बनेको कार्ययोजनाकै आधारमा काम गर्न सके संघले निर्धारित समयमै आफ्नो लक्ष्य पूरा गर्ने बताउनुभयो । लुम्बिनी प्रदेशको प्रमुख सचिव तथा संघीय सरकारको वाणिज्य मन्त्रालयको सचिव रहनुभएका ज्ञवालीले रुपन्देही क्षेत्रका उद्योगी व्यवसायी आफै पनि दीर्घकालीन योजना बनाएर अघि बढेर सफल भएकाले यो संस्थागत योजनालाई पनि कार्यान्वयनका लागि सहज हुने बताउँदै आफूले अपेक्षा गरेभन्दा धेरै सक्रिय सहभागीता भएकोमा खुसी व्यक्त गर्नुभयो ।
ज्ञवालीले हरेक संघ–संस्थामा बनाइने कार्ययोजनाले भविष्यलाई अहिलेबाट सोचेर योजनामा समेटिने, जिम्मेवारी बहन गरेर लक्ष्य प्राप्त गर्न महत्वपूर्ण हुने र कार्ययोजनाबाटै हरेक संघ संस्थाले निश्चित उद्देश्यबाट काम पूरा गर्न सक्ने बताउनुभयो । रुपन्देही जिल्ला उद्योगसँगै आर्थिक, पर्यटन, शैक्षिक र व्यापारिक पूर्वाधारमा आधारित जिल्ला भएकोले त्यसैमा आधारित रहेर कार्ययोजना बनाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयोे । ‘लामो समय संघ, प्रदेश र स्थानीय तहमा बसेर काम गर्दा समेत यस्तो क्रियाशीलता बाहिर नपाएको जनाउँदै उहाँले रूपन्देहीको क्षमताको प्रशंसा गर्दै कार्यान्वयनमा जोड दिन विशेष आग्रह गर्नुभयो ।
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता तथा महासचिव सुमन बस्यालको सञ्चालनमा भएको कार्यक्रमको शुभारम्भमा पूर्वअध्यक्ष तथा सल्लाहकार समिति संयोजक माधव प्रसाद पौडेल, सल्लाहकार ऋषि भण्डारीले संस्थागत सुशासन र पारदर्शीतासँगै लक्ष्य पूरा गर्नका लागि पनि कार्ययोजना महत्वपूर्ण रहने र संघ–संस्थाको काम टीमवर्कमा हुने भएकाले सिंगो कार्यसमिति, सल्लाहकार र कर्मचारीलाई राखेर विज्ञहरुको सुझावका आधारमा बनाइने कार्ययोजना फलदायी हुने बताउनुभयो ।
समापन कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दिलिप सापकोटाले कार्ययोजनालाई नै आधार मानेर काम गर्नुपर्ने र यसमा संघले तत्काल गर्न सकिने विषय भएकाले यसको कार्यान्वयनमा सिंगो टीम लाग्नुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले नयाँ नेतृत्व आएसँगै दुईवर्षे कार्ययोजना बनाएर त्यसैलाई आधार मानेर काम गर्नका लागि अग्रजहरुले बनाएका योजनाअनुसार कार्ययोजना बनाइएको बताउनुभयो । कार्यक्रम संयोजक रहनुभएका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले उत्पादनमूलक उद्योगीहरूको छाता संगठन र विभिन्न वस्तुगत समितिमा करिब दुई हजार उद्योगीहरु आबद्व भएकाले पनि यहाँबाट बन्ने कार्ययोजना अन्य व्यवसायिक प्रतिष्ठानहरुलाई पनि सहज बन्ने बताउँदै यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने जनाउनुभयो ।
संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले अधिवेशनबाट नयाँ नेतृत्व आएसँगै यसैगरी कार्ययोजना बनाएर अघि बढ्ने र यसमा पहिलो वर्ष र दोस्रो वर्षमा पूरा गरिने सबै कार्यक्रम, योजना र बजेटका स्रोतहरुको समेत पूर्ण आधारहरुलाई समेटिने भएकाले कार्यसम्पादनमा सहज हुने जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
