२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

निर्वाचन केन्द्रित भएर काम गर्न प्रहरीलाई आईजीपी कार्कीको निर्देशन

बुधवार , माघ २१, २०८२

  • 193
    Shares
  • 193
    Shares
  • दाङ, २१ माघ । नेपाल प्रहरीका महानिरीक्षक (डीआईजी) दान बहादुर कार्कीले आगामी निर्वाचनलाई लक्षित गरी प्रहरी संगठनलाई पूर्ण रूपमा केन्द्रित भएर इमान्दार, निष्पक्ष र जनमुखी ढंगले काम गर्न निर्देशन दिनुभएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा पुग्नुभएका डीआईजी कार्कीले मातहतका सबै प्रहरी युनिट तथा इन्चार्जहरूलाई निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी हुन नदिने गरी जिम्मेवारीपूर्वक कार्य गर्न निर्देशन दिनुभएको हो । उहाँले प्रहरी संगठनले कतै पनि झुकाव नराखी निष्पक्षता र न्यायको पक्षमा उभिएर काम गर्नुपर्ने निर्देशन दिनुभएकोको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले जनाएको छ ।

    महानिरीक्षक कार्कीले निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले जनताको भरोसा कायम राख्ने गरी आचरण प्रदर्शन गर्न निर्देशन दिनुभयो ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीका अनुसार माघ २० गते कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका प्रहरी प्रमुख तथा इञ्चार्जहरूलाई बुटवलस्थित तालिम केन्द्रमा  निर्वाचन केन्द्रित निर्देशन दिइएको थियो । त्यसै गरी माघ २१ गते दाङ जिल्लाभर रहेका प्रहरी युनिटका इन्चार्जहरूलाई निर्देशन दिइएको खत्रीले जानकारी दिनुभयो ।

    खत्रीका अनुसार महानिरीक्षक कार्कीले प्रहरी सधै जनताको पक्षमा रहेर काम गर्नुपर्ने भन्दै निर्वाचन सुरक्षामा कुनै पनि प्रकारको कमजोरी देखिन नदिन स्पष्ट निर्देशन दिनुभएको छ । साथै उहाँले कानूनको पूर्ण पालना, व्यवसायिकता र उच्च नैतिकताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ ।

    निर्वाचनलाई मर्यादित, शान्त र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले प्रदेशभर प्रहरी परिचालन र तयारीलाई थप प्रभावकारी बनाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जिल्ला इञ्चार्ज तथा युनिट इञ्चार्जहरूलाई निर्देशन दिने क्रममा उहाँले भर्चुअल माध्यमबाट समेत उपस्थित हुन नसक्ने इन्चार्जहरुलाई निर्देशन दिएको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । यसैबाट कार्यसम्पादन गरी प्रहरीलाई प्रोत्साहन तथा पुरस्कृत समेत गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।