२०८३, कार्तिक १२ गते

Oct 29 2026 | २०८३, कार्तिक १२ गते

अत्यधिक गर्मीको जोखिम न्यूनीकरणका लागि भैरहवामा कार्यशाला

बिहिवार , कार्तिक १२, २०८३

  • 226
    Shares
  • 226
    Shares
  • भैरहवा, १२ कार्तिक । तराई क्षेत्रमा बढ्दो तातो हावा (लू)को जोखिम न्यूनीकरण र प्रभावकारी व्यवस्थापनका लागि रुपन्देहीको भैरहवामा ‘एक्स्ट्रिम हिट रिस्क म्यानेजमेन्ट स्कोर कार्ड वर्कसप’ (कार्यशाला) आयोजना गरिएको छ ।

    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा र सिद्धार्थनगर नगरपालिकाको संयुक्त आयोजनामा बुधबार कार्यशाला सम्पन्न भएको हो ।

    कार्यशालामा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले तातो हावा (लू) को जोखिमबाट नागरिकलाई सुरक्षित राख्न पूर्वतयारी, जनचेतना र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । उहाँले जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायबीच समन्वय गर्नुपर्नेमा जोड दिँदै कार्यशालाबाट प्राप्त निष्कर्षलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले पहिला आफू सुरक्षित भइ अरुलाई बचाउन सकिने बताउनुभयो ।

    त्यस्तै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति राम चन्द्र उपाध्यायले कार्यशालामार्फत जनप्रतिनिधिलाई आफ्नो वडामा अत्यधिक गर्मीको जोखिम पहिचान, अवस्थाको मापन तथा मूल्यांकन र जोखिम न्यूनीकरणका उपायबारे जानकारी गराइएको बताउनुभयो । उहाँका अनुसार ‘सुपर टु’ अवधारणाअन्तर्गत दुई स्थानमा कार्यक्रम सञ्चालन गरिएको हो । स्कोर कार्डका आधारमा विगत र वर्तमानको अवस्थाको तुलना गरी आगामी दिनमा तातो हावाको जोखिम आकलन गर्न तथा आवश्यक योजना निर्माण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको परियोजना अधिकृत सुरक्षा भट्टराईको स्वागत तथा सिद्धार्थनगर नगरपालिकाका रोजगार संयोजक एवं विपद् फोकल पर्सन खेमराज गैरेको सञ्चालनमा सम्पन्न कार्यशालामा नगर कार्यपालिका सदस्य, वडाअध्यक्ष, वडा सदस्य तथा कर्मचारीहरूको सहभागीता थियो । कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी विपद् शाखाका फिल्ड कोर्डिनेटर यज्ञ लामिछानेले गर्नुभएको थियो ।