२०८२, माघ २२ गते

Feb 05 2026 | २०८२, माघ २२ गते

पुसमा राजस्व कार्यालय भैरहवाको राजस्व संकलन १ अर्ब ६६ करोड

बुधवार , माघ २१, २०८२

  • 946
    Shares
  • 946
    Shares
  • भैरहवा, २१ माघ । आन्तरिक राजस्व कार्यालय भैरहवा, रुपन्देहीले चालु आर्थिक वर्ष २०८२/०८३ को पुस महिनामा १ अर्ब ६६ करोड ८७ लाख ९१ हजार राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व विभागले कार्यालयलाई १ अर्ब २६ करोड ८७ लाख १३ हजार पाएकोमा लक्ष्यको ३१ दशमलव ५ प्रतिशत बढी संकलन गरेको हो ।

    आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय भैरहवालाई चालु आर्थिक वर्ष २०८२/०८३ मा १५ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले बताउनुभयो । त्यस्तै कार्यालयले चालु आ.व.को ६ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।साउनदेखि पुस महिनासम्ममा ६ अर्ब ६३ करोड ७० लाख ५१ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएको यो कार्यालयले ८ अर्ब १७ करोड १९ लाख ९७ हजार रुपैयाँ संकलन गरेको छ ।

    प्रमुख कर अधिकृत पोख्रेलले गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधि भन्दा यस वर्ष ४७ दशमलव ४ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार चालु आ.व.को पुससम्म लक्ष्यभन्दा १ अर्ब ५३ करोड बढी अर्थात लक्ष्य भन्दा २३ दशमलव १ प्रतिशत बढी राजस्व संकलन भएको छ । गत आ.व.भन्दा २ अर्ब ६३ करोड बढी राजस्व संकलन भएको छ ।

    यी हुन् राजस्व संकलन बढ्नुका कारण

    अर्थतन्त्रका परिसूचकमा देखिएको सुधार, स्थानीयस्तरमा वक्यौता असुली गर्न लागि करदाताको घर ठेगाना, कारोबारस्थलमा पत्राचार गर्ने, एसएमएस र टेलिफोनबाट सूचित गर्ने, स्थानीय तहसँग समन्वय गरेर सूचना टाँस गर्ने, नियमित, क्षेत्रगत र प्रभावकारी रूपमा बजार अनुगमन, आर्थिक गतिविधिमा पनि केही वृद्धि भएको कारण राजस्व संकलन बढेको प्रमुख कर अधिकृत पोख्रेलले बताउनुभयो ।

    त्यस्तै बजेटले दिएका छुट सुविधा कार्यान्यवन, करदाता शिक्षालाई बढी प्रभावकारी, नक्कली बिजक जारी गर्ने करदातालाई कारवाही गरिएको उहाँले बताउनुभयो । कर छलीलाई न्यूनीकरण गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो ।

    आन्तरिक राजस्व कार्यालय भैरहवाले करदाताबाट बाँकी–बक्यौता असुली गर्दै राजस्व संकलन बढाउने उद्देश्यले विशेष अभियान सञ्चालन गरेको थियो । कार्यालयले २०८२ कार्तिकदेखि पुससम्म सञ्चालन गरेको यो अभियानबाट १२ करोड ६२ लाख बक्यौता राजस्व संकलन भएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिनुभयो । कार्यालय अन्तर्गत रहेका आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाएका करदातासम्म प्रत्यक्ष पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरिएको थियो ।
    कर अधिकृत गौरव पाण्डेका अनुसार पुस महिनासम्म मूल्य अभिवृद्धि कर विवरण, कर र लाग्ने २५ प्रतिशत ब्याज बुझाउने करदातालाई अन्य जरिवाना तथा थप दस्तुर (कर र ब्याजको २५ प्रतिशत) पूर्ण रूपमा मिनाहा गरिएको थियो ।

    त्यस्तै अन्तःशुल्कमा लाग्ने विलम्ब शुल्कको ५० प्रतिशत बुझाएमा बाँकी विलम्ब शुल्क र जरिवाना पनि मिनाहा हुने व्यवस्था गरिएको थियो । सो अवधिमा २ सय १३ जनाले छुट सुविधा लिनुभएको प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले बताउनुभयो । मूल्य अभिवृद्धि कर विवरण नबुझाउने ९ प्रतिशत अर्थात ४१९ जना करदाता हटाइएको हटाइएको उहाँले जानकारी दिनुभयो ।

    आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रमा १ लाख १० हजारभन्दा बढी व्यवसायिक करदाता छन् । यो कार्यालयको कार्यक्षेत्रमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नम्बर १ देखि ४ तथा ११ र १२, लुम्बिनी साँस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई, सियारी तथा शुद्धोदन गाउँपालिकाको वडा नम्बर ३ र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला पर्छ ।