२०८२, माघ २४ गते

Feb 07 2026 | २०८२, माघ २४ गते

राजनीतिक विरासत जोगाउने दाउमा क्याप्टेन गौरव बोहरा

शुक्रवार , माघ २३, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २३ माघ । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट क्याप्टेन गौरव बोहरा चुनावी मैदानमा होमिनुभएको छ । रुपन्देही–३ का स्थायी बासिन्दा बोहरा राजनीतिक विरासत र युवा प्रतिनिधिलाई साथमा लिएर चुनाव जित्ने दाउमा जुट्नुभएको हो ।

    उहाँ पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ नेता स्वर्गीय दीपक बोहराका जेठा छोरा हुनुहुन्छ । गौरवले बुवाले क्षेत्रमा पुर्याएको राजनीतिक योगदान, विरासत र अहिलेका युवाहरुको प्रतिनिधिको रुपमा आफूूलाई चुनावी मैदानमा उतारेको उल्लेख गर्नुभयो ।  प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा राप्रपाकोतर्फबाट दीपक बोहराले चुनाव जित्नुभएको थियो । उहाँले तत्कालिन बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्नुभएको थियो । दीपक बोहराले ३६ हजार ७ सय १७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी बालकृष्ण खाणले ३४ हजार ३६ मत पाउनुभएको थियो ।

    बुवाले जित्नुभएको क्षेत्रमा पुनः जित्ने गरी चुनावी मैदानमा आफू र सिंगो पार्टी लागिपरेको उम्मेदवार गौरवको भनाइ छ । पहिलोपटक चुनावी मैदानमा आए पनि जनताको कामका लागि बुवाले देखाउनुभएको मार्ग पछ्याउँदै चुनावी मैदानमा होमिएकाले आफूलाई जनतासँग भिज्न कुनै समस्या नरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ–‘मैले आफ्नो जीवन पेशागत अनुशासन, जिम्मेवारी र सेवाको भावनासँग बिताएँ । आफ्नो काममार्फत आम नागरिकहरुलाई सहयोग गर्ने, समस्या सुन्ने र सकेसम्म समाधान खोज्नेतर्फ धेरै पहिलादेखि नै लागिरहेको थिए । अब जनताको प्रतिनिधि बनेर सेवा गर्ने सोच छ । विगतदेखि नै नागरिकको सेवा भावलाई अगाल्दै आउँदै गर्दा आज म त्यही अनुभव, त्यही जिम्मेवारीबोध र आफ्नो जन्मभूमि रुपन्देही क्षेत्र नम्बर ३, को सेवामा समर्पित गर्न चाहन्छु ।’

    गौरव बोहरा दीपक बोहराले गर्दागर्दै बाँकी रहेका अधुरा कामलाई पार लगाउदै नयाँ काम गर्न सक्ने क्षमतावान व्यक्ति रहेको स्थानीय मतदाता माया रोकाले बताउनुभयो । त्यसैले यसपटक उहाँलाई चुनाव जिताएर पठाउनुपर्छ, यसपटक युवा, सक्षम, नेतृत्वदायी व्यक्तिलाई संसदमा पठाउनुपर्छ, ’रोकाले भन्नुभयो । गौरवको बढ्दो उत्साह र युवा मतदाताको समर्थन रहेको कारण राप्रपा एक्लै पनि यस क्षेत्रमा बलियो रहेकोले चुनाव जित्नका लागि समस्या नरहेको उहाँको भनाइ छ ।

    स्वयं गौरव पनि आफू युवा भएको कारण युवाहरूको आवश्यकता महसुस रहेको बताउनुहुन्छ । हवाई यात्रुको सुरक्षा जस्तै अब आम नागरिकको सुशासनसहितको भविष्यको सुरक्षा मेरो जिम्मेवारी हो । म यो विश्वास र जिम्मेवारी निभाउन चाहन्छु, ’उहाँले भन्नुभयो ।

    रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ अन्य क्षेत्रहरूको तुलनामा राप्रपाको राम्रो पकड भएको क्षेत्रको रूपमा चिनिएको पार्टीका जिल्ला अध्यक्ष सागर प्रताप राणा बताउनुहुन्छ । यसअघिको निर्वाचनमा यस क्षेत्रबाट भएको प्रतिनिधित्वले पनि राप्रपाको पकडलाई पुष्टि गरेको उहाँको भनाइ छ ।

    नेपालको राष्ट्रियता, सनातन हिन्दू धर्म, भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै भावी पुस्तालाई मौलिक पहिचान हस्तान्तरण गर्दै भ्रष्टाचारमुक्त र शुसासनका पक्षमा निरन्तर काम गर्ने वाचासहित निर्वाचनमा होमिएकाले राप्रपाले चुनाव जित्नेमा पार्टी ढुक्क रहेको सचिव बलराम शर्माले बताउनुभयो । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा ३६ जनाले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गरेका छन् ।