२०८२, माघ २६ गते

Feb 09 2026 | २०८२, माघ २६ गते

‘कला, संस्कृतिको संरक्षणमा निजी विद्यालयले निर्वाह गरेको भूमिका महत्वपूर्ण’

सोमवार , माघ २६, २०८२

  • 85
    Shares
  • 85
    Shares
  • भैरहवा, २६ माघ । मुलुकको कला, संस्कृति तथा लोक नृत्यको संरक्षण र सम्वद्र्धनमा निजी विद्यालयहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । 

    सिद्धार्थ इन्ट्रिग्रेटेड स्कूल एशोसिएसन (सिसा) रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको अन्तरविद्यालय नृत्य प्रतियोगितामा सहभागी वक्ताहरूले सो कुरामा जोड दिएका हुन । उनीहरुले राज्यले संरक्षण र प्रवद्र्धनमा अपेक्षित ध्यान दिन नसके पनि निजी विद्यालयहरूले लोक संस्कृति, संगीत र नृत्य जोगाउन यस्ता सिर्जनात्मक कार्यक्रममार्फत योगदान गरिरहेको बताएका हुन । 

    कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखाका कृष्ण प्रसाद पोख्रेलले विद्यालय विद्यार्थीको भविष्य तय गर्ने मुख्य थलो भएको बताउनुभयो । उहाँले शैक्षिक ज्ञानसँगै जीवनोपयोगी सीप, कला र संस्कृतिको विकासमा विद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

    त्यस्तै सिसा रुपन्देहीका सल्लाहकार तथा ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कूल सिद्धार्थनगर–१ का प्रबन्धक अमित यादवले राज्यस्तरबाट कला र संस्कृतिको संरक्षणमा पर्याप्त प्राथमिकता नपाए पनि निजी विद्यालयहरूले लोक संस्कृति, संगीत र नृत्यलाई जोगाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । उहाँले शिक्षासँगै खेलकुद तथा विभिन्न जीवनउपयोगी सीपको विकास विद्यार्थीका लागि अपरिहार्य भएकोले सिद्धार्थ इन्ट्रिग्रेटेड स्कूल एसोसिएसन (सिसा) रुपन्देहीले विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता विविध कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । 

    त्यसै गरी सिसा रुपन्देहीका अध्यक्ष तथा ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कूलका प्रधानाध्यापक एल.बी. रौतारले सिसामा आबद्ध विद्यालयहरूबीच आपसी सहकार्य, स्वस्थ प्रतिस्पर्धा र अनुभव आदान–प्रदान गराउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिँदै आएको बताउनुभयो । 

    सिसा रुपन्देहीका कोषाध्यक्ष मनोज जिसीले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकतामा राख्दै सिसाले विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
    ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कूलका को–अर्डिनेटर नारायण कश्यपको स्वागत तथा मोडर्न पब्लिक स्कूल भैरहवाका प्राचार्य मुकेश यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सिसामा आबद्ध विद्यालयहरूबीच सम्पन्न नृत्य प्रतियोगितामा सिनियरतर्फ ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कूल सिद्धार्थनगर–१ रानीगाउँले प्रथम भएको छ  । त्यस्तै मोडर्न पब्लिक स्कूल सिद्धार्थनगर–८ शिवपथ भैरहवा द्वितीय, युनिक पब्लिक बोर्डिङ स्कुल ओमसतिया–४ तृतीय तथा सिद्धार्थ एकेडेमी सिद्धार्थनगर–७ भैरहवाले चौथो स्थान प्राप्त गरेका छन् ।

    जुनियरतर्फ भएको नृत्य प्रतियोगितामा पनि ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल सिद्धार्थनगर प्रथम हुन सफल भएको छ । सिद्धार्थ एकेडेमी सिद्धार्थनगर–७ भैरहवाले द्वितीय, मोडर्न पब्लिक स्कुल सिद्धार्थनगर–८ शिवपथ भैरहवाले तृतीय तथा युनिक पब्लिक बोर्डिङ स्कुल ओमसतिया–४ ले सान्त्वना स्थान हासिल गरेको थियो ।

    c873f61c-932b-4204-8f73-d21d6df024a2.jpg

    प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, शिल्ड तथा मेडल प्रदान गरी सम्मान गरिएको थियो । त्यस्तै सहभागी विद्यालयका प्राचार्य, नृत्य शिक्षक तथा प्रशिक्षकहरूलाई समेत मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो ।

    कार्यक्रममा पत्रकारिता क्षेत्रमार्फत समाजमा उल्लेखनीय योगदान पुर्याएको भन्दै रुपन्देही खबरका प्रबन्धक तथा कार्यकारी सम्पादक उर्मिला यादव यात्रीलाई नगद ५ हजार १ सय एक रुपैयाँसहित सम्मान गरिएको थियो । साथै अनामिका जब लिंकका प्रबन्धक अनामिका यादवलाई समेत सम्मान प्रदान गरिएको थियो ।