२०८२, माघ २७ गते

Feb 10 2026 | २०८२, माघ २७ गते

आफ्नै जिल्लामा नपत्याएपछि अर्कै क्षेत्र खोज्दै हिँडे : अध्यक्ष ओली

मंगलवार , माघ २७, २०८२

  • 247
    Shares
  • 247
    Shares
  • काठमाडौं, २७ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गर्नुभएको छ । 

    उहाँले आफ्नो क्षेत्रमा विश्वास गुमाएकाहरु नयाँ ठाउँ चहार्दै हिँडेको बताउनुभएको हो । काठमाडौंमा जितिसकेको मान्छेले त्यहाँबाटै लड्ने किन आँट नगरेको ? उहाँको प्रश्न छ । आफूले काम गर्न नसकेपछि अरु नयाँ ठाउँमा जानुपर्ने बाध्यता आइलागेको बताउनु भयो ।

    झापाको गौरीगञ्जसँगको सम्बन्ध वि.सं. २०२६ सालदेखि नै रहेको स्मरण गर्दै उहाँले २६, २७, २८, २९ सालसम्म आफू त्यहीँको संगठनमा खटिएको बताउनुभएको हो ।

    ३० सालमा जेल परेपछि केही समय आउन नपाएको तर ४७ सालको अन्तिमदेखि फेरि उक्त ठाउँसँगको यात्रा निरन्तर रहेको बताउनु भयो । उहाँले गौरीगन्ज क्षेत्रमा भएको कायापलटको चर्चा गर्दै विगतको गौरीगञ्ज र वर्तमानको ‘सेल्फी रोड’ बनेको गौरीगञ्जमा आकाश–जमिनको फरक रहेको बताउनु भयो ।

    विकासका पूर्वाधारबारे चर्चा गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग आफ्नै पहलकाकारण सफल भएको बताउनु भयो । उहाँकाअनुसार कन्काईको एउटा पुल बाहेक अधिकांश काम सम्पन्न भइसकेको र रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक समस्या समाधानको चरणमा रहेको छ ।

    सामाजिक सुरक्षाका क्षेत्रमा आफ्नै नेतृत्वको सरकारले महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै उहाँले ज्येष्ठ नागरिक भत्ता ४ हजार पु¥याएको दाबी गर्नुभयो । यद्यपि वर्तमान आर्थिक अवस्था र पटक–पटकको सरकार परिवर्तनका कारण भत्ता बढाउन नसकिएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘अलि समय भएको थियो मैले यहाँहरूसँग भेट्न नपाएको । आज भेटघाट भएर खुसी लागेको छ । यद्यपि यो ठाउँसँगको मेरो सम्बन्ध धेरै पुरानो छ । म २६,२७ सालदेखि यस ठाउँमा आउने र सङ्गठन गर्ने गरेको हुँ। २६, २७, २८, २९ सालसम्म। ३० सालमा जेल परेपछि मैले यतातिर आउने मौका मिलेको थिएन ।

    जेलबाट छुटेपछि केही समय मैले यता गाउँघरतिर आउने मौका मिलेको थिएन फेरि। ४७ सालको अन्तिमबाट फागुन चैतबाट म यो ठाउँमा आउन थालेको हुँ। यहाँहरूसँग भेटघाट भइरहेको छ र यहाँहरूले आफैँले भनिसक्नुभएको छ यो ठाउँमा ठुलो परिवर्तन आएको छ। म सांसद भएर गएपछि पार्लियामेन्टमा प्रतिपक्षमा थियौँ हामी त्यसबेला।

    लेराको पुल बनाउनुपर्छ भनेर लेराको पुलको माग मैले सधैँ राख्थेँ। म बोल्न उठेपछि मान्छेहरूले जिस्क्याउने स्थिति हुन्थ्यो लेराको पुल भन्न आँट्यो भनेर। लेराको पुल बनाउन धेरै गाह्रो भो। तर मैले मेची महाकाली नै हुलाकी बाटोलाई हुलाकी राजमार्गमा विकास गरेपछि लेराको पुलको गीत गाइरहनु परेन लेराको पुल आफैँ बन्यो। अहिले एउटा मात्रै पुलमा ठेकेदारले राम्रो काम नगरेर ठेक्का तोडिएको छ।

    अब त्यो पुल पनि बन्छ नै किनभने यो राजमार्गमा त्यो पुल नबनेर धरै छैन पुल बन्छ नै कन्काईको पुल एउटा मात्रै पुल त्यहाँ बन्न बाँकी छ। अर्को कमलाको पुल माटोको परीक्षण र इन्जिनियरिङको गल्तीले गर्दा अलि भासिएको छ त्यसलाई पुनर्निर्माण गर्नुपर्नेछ। यस्ता एकाध ठाउँ प्राविधिक कारणले ठेकेदारको कारणले केही भएको होला। रतुवाको पुल चाहिनेभन्दा साघुरो र छोटो बनाएर त्यसलाई फेरि विस्तार गर्नुपर्यो। त्यो इन्जिनियरिङको त्रुटि हो।

    नत्र उहिले बनिसक्नुपर्ने थियो। यस क्षेत्रमा त्यस प्रकारका कतिपय कमीकमजोरीहरू ठेकेदारले गर्दिने इन्जिनियरले गर्दिने जस्ता कुराहरूले कामहरू ढिला भएको हो। तर पनि हामीले कामहरू पूरा गरेका छौँ पूरा गर्दैछौँ। गौरीगन्ज उहिलेको गौरीगन्ज म सम्झिन्छु। २६,२७ सालमा हेर्दाको गौरीगन्ज म सम्झिन्छु। आजको गौरीगन्ज त सेल्फी रोड भन्छन् नि सेल्फी रोड जस्तै छ।

    सेल्फी खिच्ने बाटो जस्तै छ गौरीगन्ज। गौरीगन्जमा देउरिया पुल बडो अप्ठ्यारो स्थितिमा थियो। एउटा काठे पुल उहिले बनाएको थियो त्यो पनि पुरानो। अहिले बम्बे चौडा त्यस्तो नयाँ पुल बनेको छ बाटो बनेको छ। र यस ठाउँमा पनि यस्तो बाटो बन्ला र यस्तो पक्की बाटो बन्ला र जस्तो थियो बनेको छ। पहिले पहिले यहाँ बिजुलीको कुरै थिएन। पालिकाहरूले त्यसबेला गाविस भन्थे म आउँदा गाविसले एक सेट भीएचएफ कि के भन्ने टेलिफोन हुन्थ्यो।

    त्यो एक लाइन पाउन भनेर निवेदन गर्नुहुन्थ्यो र त्यो एक लाइन जडान गर्दिनुपथ्र्यो। विभिन्न पालिकाहरूमा व्यक्ति व्यक्तिले पाउने त सम्भावनै थिएन। पालिकाहरूमा आज हात हातमा मोबाइल छ सबैसँग। ४ जी सेवा छ। संसारसँग कुरा गर्न सकिन्छ संसारसँग संसारको कुरो जानकारी लिन सकिन्छ। त्यो ठाउँमा हामी पुगेका छौँ।

    विद्यालयहरू क्याम्पसहरू अघि नै साथीले भनिसक्नुभयो। विद्यालय भवन निर्माण क्याम्पस भवन निर्माण देखि लिएर खानेपानीका ट्याङ्कीहरू बनाउने देखि लिएर अनेक प्रकारका कामहरू भएका छन्। हामीले ५१९५२ सालमा सुरु गरेको सामाजिक सुरक्षा भत्ता अघिल्लो पल्ट मैले ४ हजार पुर्याएको थिएँ।

    अहिले विभिन्न ढङ्गले सरकार फेरिने र त्यसले अर्थतन्त्र अप्ठ्यारो स्थितिमा पारेको हुनाले त्यसलाई बढाउन सकिएको छैन। तर ठूलो सङ्ख्यामा ३७,३८ अर्बभन्दा बढी रकम त्यसमा गइरहेको छ। ठुलो रकम हामीले त्यसमा खर्च गरिरहेका छौँ। ठूलो सङ्ख्याको मानिसहरूले त्यसबाट लाभ लिइरहनुभएको छ। ज्येष्ठ नागरिकहरू, एकल महिलाहरू, अपाङ्गता भएका व्यक्तिहरू, अशक्त अपाङ्गता भएका व्यक्तिहरू सबैले त्यसको लाभ लिन पाएका छन्।

    हामीले सडकमा भिखमङ्गा सडक बालबालिका हुनुहुँदैन भनेर अभियान चलाएका छौँ। र पछाडि परेको समुदायलाई कसरी अगाडि बढाउने त्यस विषयमा पनि हामीले विभिन्न प्रयासहरू गरेका छौँ। अहिले म केही भन्न धेरै चाहन्न। हामीले थाहा पाउनुपर्छ आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन ? आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन। त्यहाँ ढाँट्न सकिँदैन।

    काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै किन आँट गर्दैन फेरि लड्न ? किन यहाँ आउँछ ? यो साथीहरूले बुझ्नुभएको छ, दाजुभाइ दिदीबहिनीहरूले बुझ्नुभएको छ। अर्को कुरा अहिले म यसो अलिकति सुन्छु कता कता मधेसी पहाडी भन्ने कुरा पनि सुन्छु भित्र भित्र। त्यस्तो कुराहरू गर्नुहुँदैन हामीले। हामीले सामाजिक न्याय र समानताको कुरा गर्नुपर्छ। त्यसको आधारमा सामाजिक सद्भावको कुरा गर्नुपर्छ।’

    अध्यक्ष ओलीले समाजमा सद्भाव बिथोल्ने प्रयासहरूप्रति सचेत गराउनु भयो । मधेशी र पहाडीबीचको भेदभाव अन्त्य गरी सामाजिक न्याय र समानताका आधारमा राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।