२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

रुपन्देही–२ : रास्वपा उम्मेदवार खरेलविरुद्ध सहकारी पीडितद्वारा नाराबाजी

बुधवार , माघ २८, २०८२

  • 460
    Shares
  • 460
    Shares
  • रुपन्देही, २८ माघ । रुपन्देही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् ।

    बुधबार दिउँसो बुटवल उपमहानगरपालिका–११ स्थित होराइजन चोकमा खरेल मत माग्न हिंड्दै गरेको थाहा पाएर पीडितहरू विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर त्यहाँ पुगेका थिए ।
    पीडितहरूले सुप्रिम सहकारीको बचत अपचलनमा मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘तिम्रो नेता खोई ? लिएर आऊ’, ‘जेनजीका माग कसले पूरा गर्छ’ ? लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

    तर, सहकारीपीडित जम्मा भएको थाहा पाएपछि उम्मेदवार खरेल आफूहरू रहेको ठाउँबाट सय मिटर दूरीमा रहेको एल डोराडो रेष्टुरेण्टभित्र गएर बसेको पीडितमध्येका एक सोनु श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘हामीले दुःख गरेर नखाइनखाइ जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ ? हामीलाई यसको जवाफ दिनुपर्यो नी ।’ 

    सहकारी पीडितले आफ्नो प्रचार अभियानमा प्रदर्शन गरेको विषयमा उम्मेदवार खरेलले भने अनभिज्ञता प्रकट गर्नुभयो । उहाँले निर्वाचनका बेलामा यस्ता घटना हुने भन्दै यो विषय आफ्नो सरोकारको इस्यू नभएको बताउनुभयो ।

    सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको छ । सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको छ । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको अभियोग छ ।

    सुप्रिमको रकम अपचलनमा संलग्न रहेको अभियोग लागेका रास्वपा अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा हुनुभएको छ । उहाँले सोमबार मात्रै तारेख लिनुभएको थियो ।