२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

भैरहवामा कृत्रिम हातखुट्टा निःशुल्क राखिने, लाभलिन आग्रह

शुक्रवार , फाल्गुण १, २०८२

  • 277
    Shares
  • 277
    Shares
  • भैरहवा । भैरहवामा निशुःल्क रुपमा कृत्रिम हातखुट्टा राखिने भएको छ । आर्थिक अभावका कारण कृत्रिम हातखुट्टा राख्न नसक्नेहरुका लागि शिविरको आयोजना गरिएको छ । 

    नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजना तथा मारवाडी सेवा समिति, भैरहवाको सहयोगमा फागुन ७ गतेदेखि ९ गतेसम्म निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिबिर संचालन हुने भएको हो । दुर्घटना लगायत विभिन्न कारणबाट हातखुट्टा गुमाएका व्यक्तिलाई सहयोग गर्ने उद्धेश्यले शिबिरको आयोजना गर्न लागिएको सस्थाले जनाएको छ । 

    मारवाडी युवा संगठनले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी निःशुल्क शिविरबाट लाभ उठाउन सम्बन्धित व्यक्तिहरुलाई आह्वान गरेको छ । सस्थाले शारीरिक रुपमा अक्षम नागरिकहरुको कृत्रिम अंग निर्माणका लागि प्राविधिकले नापजाँच गरेपछि सहयोग प्रदान गरिने जनाएको छ ।

    नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोजकुमार अग्रवालले विगत लामो समयदेखि मुलुकका विभिन्न शहरमा यस्ता खालका सामाजिक कार्य गर्दै आएको बताउनु भयो । त्यसैले यसपटक पनि यस्तो सहयोग आवश्यक परेका व्यक्तिलाई सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभएको छ । 

    उहाँका अनुसार फागुन ७ गते भैरहवास्थित मारवाडी सेवा समितिको भवनमा प्राविधिकहरुले हातखुट्टा गुमाएका व्यक्तिहरुको नाप लिने छन् । त्यस्तै फागुन ८ गते नापजाँच अनुसार कृत्रिम हातखुट्टा तयार गरेर ९ गते सम्बन्धित व्यक्तिहरुलाई वितरण गरिनेछ । 

    उहाँले भैरहवामा कम्तिमा ५० जनालाई कृत्रिम हातखुट्टा प्रदान गरिने गरी तयारी गरिएको उल्लेख गर्दै लाभग्राहि बढे सोहि अनुसार व्यवस्थापन गरिने पनि बताउनु भयो । 

    मारवाडी सेवा समितिका सचिव हरिश सेठियाले भैरहवामै तेस्रोपटक यस्तो कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । अहिले कार्यक्रम सफल बनाउन दाता र सहयोगी जुटिरहेको उहाँको भनाई छ । 

    संगठनले कृत्रिम हातखुट्टा शिविरका लागि यज्ञराज अग्रवाललाई राष्ट्रिय संयोजक र मनोज सिंघललाई स्थानीय संयोजक तोकेर तयारी गरिरहेको जनाएको छ ।