शुक्रवार , फाल्गुण १, २०८२
पाल्पा, १ फागुन । पाल्पाको तिनाउ गाउँपालिका–१ स्थित ठूलीउदाङमा बालमैत्री कार्यक्रम अन्तर्गत बालबालिकाहरुका लागि मनोविमर्श तथा परामर्श तालिम शुक्रबार सम्पन्न भएको छ ।
तालिममा शैक्षिक अभियन्ता दलबहादुर गुरुङले बालबालिकाको अर्थ, मनोविमर्शको परिचय, यसका क्षेत्र, आवश्यकता र प्रकारका साथै विद्यालयमा यसको खाँचोसम्बन्धि सहजीकरण गर्नुभएको थियो ।
बालमैत्री कार्यक्रम वडा नम्बर १ का सहजकर्ता वसन्त चिदीले बालमैत्री स्थानीय शासन, यसको आवश्यकता र तिनाउ गाउँपालिकाले निकट भविष्यमा घोषणा गर्दै गरेको बालमैत्री स्थानीय शासन कार्यक्रमका बारेमा प्रष्ट्याउनुभएको थियो ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिका–१ का वडा सदस्य यमबहादुर घर्तीले बालबालिकालाई बाल मनोविमर्श आवश्यक रहेको बताउनुभयो । उहाँले यस्तो खाले तालिम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बालमैत्री कार्यक्रममार्फत गाउँमा बालश्रम, बालविवाह रोकिएको बताउनुभयो ।
सोही अवसरमा सिद्व आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर सोमरेले यतिबेला विद्यालयमा विविध खालका समस्याहरु देखा परिरहेका भएकाले विद्यालयमा नै मनोविमर्श केन्द्र स्थापना र शिक्षकलाई मनोविमर्श तालिम आवश्यक रहेको औल्याउनुभयो । त्यसतर्फ गाउँपालिकाले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सरस्वती आधारभूत विद्यालयका शिक्षक कुमार भण्डारीले तालिम प्रभावकारी रहेको बताउनुभयो ।
तालिममा प्रगतिशील बाल क्लबका अध्यक्ष अशोक घर्ती, स्मृति घर्ती, स्नेहा घर्ती, रोजित केसीलगायतले तालिम ज्ञानबद्र्वक रहेको बताउनुभयो । तालिममा सरस्वती र सिद्ध आधारभूत विद्यालयमा गठित बाल क्लबहरु र समुदायमा रहेका बाल क्लबहरुका विद्यार्थीको सहभागीता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
