बुधवार , कार्तिक ११, २०८३
दाङ, ११ कार्तिक । थारु कल्याणकारी सभा क्षेत्रीय समिति क्षेत्र नम्बर १ दाङ देउखुरीले सञ्चालन गरेको ‘एक घर एक किलो चामल दान अभियान’ अन्तर्गत संकलित राहत सामग्री नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको रोहबरमा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा उक्त राहत सामग्री नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिलाई हस्तान्तरण गएिको हो।
सभाले लमही नगरपालिका–५ स्थित थारु कल्याणकारी सभा भवन, राप्ती गाउँपालिका–७ छुट्की सिसहनिया र राजपुर गाउँपालिकामा राहत संकलन केन्द्र स्थापना गरी खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री संकलन गरेको थियो ।
तीनवटा संकलन केन्द्रबाट ३३ हजार २७ किलोभन्दा बढी चामल संकलन भएको छ । त्यस्तै १ हजार १ सय ५ किलो दाल, २ हजार ४ सय ३३ किलो नुन, १ सय ७७ लिटर तेल, २ सय ९८ किलोभन्दा बढी लसुन, २ सय २ किलोभन्दा बढी बेसार, २२ किलोभन्दा बढी खुर्सानी, ३५ किलोभन्दा बढी गहुँ र ४० किलो पिठो संकलन गरिएको छ । यसका अतिरिक्त चाउचाउ र सोयाबीनलगायतका खाद्य सामग्री पनि संकलन गरिएको थियो ।
संकलित राहत सामग्री थारु कल्याणकारी सभा क्षेत्र नम्बर १ का सभापति गोकुल प्रसाद चौधरीले नेपाल रेडक्रस सोसाइटीका प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी ‘कृष्ण’ लाई हस्तान्तरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरणका क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य रोहबरमा रहनुभएको थियो । विपद् प्रभावित नागरिकलाई आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको थियो ।
स्थानीय समुदायको सहभागितामा संकलित राहत सामग्री विपद् प्रभावित नागरिकसम्म पुर्याउन रेडक्रसमार्फत सहयोग गरिएको हो । विपद् प्रभावितहरुलाई लक्षित गरी राहत सामग्री संकलन गरिएको र उक्त सामग्री विपद् प्रभावितसमक्ष पुर्याउने गरी रेडक्रसले भूमिका बढाउनुपर्ने मुख्यमन्त्री आचार्यले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij