२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

रोग–किरा भित्रिन नदिन बिउबिजनको अवैध आयात रोक्नुपर्नेमा जोड

शनिवार , फाल्गुण २, २०८२

  • 133
    Shares
  • 133
    Shares
  • भैरहवा, २ फागुन । किसानले खेतबारीमा लगाएको अन्नबालीमा रोग–किरा भित्रिन नदिन अनधिकृत (अवैध) रुपमा आयात गरिने बिउबिजन रोक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उनीहरुले बिउबिजनको चोरी निकासी रोक्न सुरक्षाकर्मीसँगै सम्पूर्ण सरोकारवालाहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिएका हुन् ।

    क्वारेन्टाइन कार्यालय, भैरहवाले बेलहियामा आयोजना गरेको भन्सार एजेन्ट र सुरक्षाकर्मी लगायत सरोकारवालासँग अन्तरक्रिया गोष्ठीमा उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा क्वारेन्टाइन कार्यालय, भैरहवाका प्रमुख तथा वरिष्ठ बाली संरक्षण अधिकृत सहसराम चौधरी (कुर्मी) ले नेपालको केरा खेती जोगाउन र किरा–रोग भित्रिन नदिन हाल केरा आयातमा रोक लगाइएको बताउनुभयो । उहाँले यसबारे अध्ययन पनि भइरहेको र प्रतिवेदन आउन बाँकी रहेको जानकारी दिनुभयो ।

    ‘आयातकर्तालाई सहजीकरण र सहजता प्रदान गर्न शनिबार पनि क्वारेन्टाइन कार्यालय कम्तीमा एक–दुई घण्टा खोल्नुपर्ने माग आएको छ, हामीले यसबारे केन्द्रमा कुरा राखेका छौं । उताबाट आदेश आउनेबित्तिकै शनिबार पनि सेवा दिन्छौं, ’उहाँले भन्नुभयो । व्यापार रोक्ने नभइ आयात भन्दा निर्यात बढाउनुपर्ने उहाँको भनाइ छ ।

    त्यस्तै कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख भाष्कर पौडेलले क्वारेन्टाइनमै अवैध बिउबिजन रोक्न सकिए रोग–किरा भित्रिन नपाउने र किसानलाई पनि मर्का नपर्ने बताउनुभयो । उहाँले सम्पूर्ण सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

    बिउबिजन प्रयोगशाला भैरहवाका प्रमुख दीपक सापकोटाले बीउ भनेको बीउकै रुपमा आउनुपर्ने बताउनुभयो । अवैध रुपमा भित्रिने बीउ जफत हुने उहाँले बताउनुभयो ।
    क्वारेन्टाइन कार्यालय भैरहवाका बाली संरक्षण अधिकृत उमाशंकर पाठकले तरकारी, माछा लगायतमा नेपाल आत्मनिर्भर भइरहेको बताउनुभयो । ‘क्वारेन्टाइन कार्यालयका कारणले मात्रै आयात–निर्यात प्रभावित भएको होइन । सेवाग्राहीलाई सहजता प्रदान गर्न राती १२ बजेसम्म पनि काम गरेका छौैं, ’पाठकले भन्नुभयो ।

    गोष्ठीमा बाली संरक्षण अधिकृत राजेन्द्र भट्टराई, कमलापति शुक्ला, भन्सार एजेण्ट लगायतले बोल्नुभएको थियो । कार्यक्रममा भन्सार एजेण्टहरुले सहज र सरल रुपमा कार्यालयबाट सेवा प्रवाह हुनुपर्ने, छिटो सड्नेगल्ने सामान आयातलाई लक्षित गरेर सामान गन्तव्यसम्म पुर्याउन शनिबार पनि निश्चित अवधिका लागि क्वारेन्टाइन कार्यालय सञ्चालन गर्नुपर्ने लगायतका माग राखेका थिए ।

    गोष्ठीमा क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख सहसराम चौधरी (कुर्मी)ले प्लान्ट क्वारेन्टाइन तथा क्वारेन्टाइन कार्यालय भैरहवाको संक्षिप्त जानकारी र विरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ तथा विरुवा क्वारेन्टाइन तथा संरक्षण नियमावली, २०६६ मा भएको व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    mmkkkk.jpg

    त्यस्तै क्वारेन्टाइन कार्यालय भैरहवाका बाली संरक्षण अधिकृत उमाशंकर पाठकले प्लान्ट क्वारेन्टाइन नियमन प्रक्रिया सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।