२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

व्यवसायीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन माग

आइतवार , फाल्गुण ३, २०८२

  • 202
    Shares
  • 202
    Shares
  • भैरहवा, ३ फागुन । मुक्ति समाज नेपाल रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय भेला शनिबार भैरहवामा सम्पन्न भएको छ । मुक्ति समाज सिद्धार्थनगर कमिटी, रुपन्देहीको आयोजनामा भएको भेलामा सहभागीहरुले जातीय भेदभाव तथा छुवाछुतविरुद्ध कठोर हुन आग्रह गरे । उनीहरुले मुलुकको नीति निर्माण तहमा समावेशी प्रतिनिधित्वका लागि नेकपा (एमाले)ले अझ ध्यान दिनुपर्नेमा जोड दिए । व्यवसायीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन उनीहरुको माग छ ।

    कार्यक्रममा एमाले रुपन्देहीका पूर्व जिल्ला सदस्य तथा सिद्धार्थनगरका पूर्व कार्यपालिका सदस्य प्रेम कुमार सेन्चुरीले सुनचाँदीमा लगाइएका बिलासिता कर हटाउनुपर्ने बताउनुभयो । उहाँले यसका लागि निर्वाचनपछि आउने संसदमा जोडदार रुपमा कुरा उठाएर यो समस्याको समाधान गर्नुपर्ने माग राख्नुभयो । उहाँले सुनचाँदी व्यवसायका जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । व्यवसायीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन उहाँले माग राख्नुभयो । एमाले उम्मेदवारलाई जिताउनुपर्ने उहाँले बताउनुभयो ।

    नेकपा (एमाले) केन्द्रीय लेखा आयोगका सदस्य बाबुराम विश्वकर्माले एमालेले विभिन्न स्थानमा समावेशी प्रतिनिधित्वलाई अझ बढी ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले रुपन्देही क्षेत्र नम्बर ३ ले योग्य र विकासप्रेमी उम्मेदवार बासुदेव घिमिरे पाएको बताउनुभयो । एमालेको नेतृत्वमा देशमा विकास हुने उहाँको भनाइ छ । 

    कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले बासुदेव घिमिरेले नेतृत्वमा तिलोत्तमाले नगरपालिकाले गरेको कामले तिलोत्तमालाई राष्ट्रियस्तरमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमा पनि परिचित गराएको बताउनुभयो ।उहाँले भन्नुभयो–‘नगरपालिका होस् त तिलोत्तमा नगरपालिका जस्तो र जनप्रतिनिधि होस् त बासुदेव घिमिरे जस्तो ।’ पोखरेलले रुपन्देही–३ ले घिमिरे जस्तो योग्य उम्मेदवार पाएको बताउनुभयो । घिमिरेले संघीय संसद्को पनि जिम्मेवारी निर्वाह गरिसक्नुभएकोले अनुभवीलाई कानून निर्माणमा पनि सहज हुने उहाँको भनाइ छ । एमाले नेतृत्वमा धेरै विकासका काम भएको र अझै गर्न बाँकी रहेको पार्टीका उम्मेदवारहरुलाई जिताउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

    एमालेबाट रुपन्देही–३ का उम्मेदवार बासुदेव घिमिरे आफू र पार्टीलाई उर्जा प्राप्त भएको र आगामी फागुन २१ गते हुने निर्वाचन एमालेले जित्ने बताउनुभयो । ‘मेरो बारेमा यहाँहरुलाई जानकारी नै छ । विगतमा पनि यहाँहरुको मागदर्शन, सल्लाह, सुझाव अनुसार नै अगाडि बढियो र प्रतिफल पनि प्राप्त भयो । संघीय ससंद हुँदा मैले खेलेको भूमिकाबारे यहाँहरुलाई जानकारी नै छ, ’घिमिरेले भन्नुभयो ।

    रुपन्देही–३ मा महत्वपूर्ण भन्सार नाका, विशेष आर्थिक क्षेत्र (सेज), गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल, सिद्धार्थ क्रिकेट रंगशला, विभिन्न नदीहरु कृषियोग्य भूमि, विभिन्न जातजाति र भाषाभाषीको समिश्रण भएको क्षेत्र भएको उहाँले बताउनुभयो ।

    ‘जातीय विभेद र उत्पीडिनविरुद्ध नीति बनेको छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ । कानून मिच्नेलाई कारवाही हुनुपर्छ भन्नेमा म स्पष्ट छु’घिमिरेले भन्नुभयो । । उद्योगी–व्यवसायीलाई आर्थिक मन्दीका कारण असर परेको र त्यसलाई जोडदार रुपमा उठाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    ‘तपाईहरुसँग सहकार्य गर्दै आएको छु । भ्रष्टाचार, कुशासन नेपालको रोग हो । व्याप्त भ्रष्टाचारका घटना निर्मुल हुन सक्दा जनतामा असुन्तष्टी बढेको छ । भ्रष्टाचारको अन्त्य गर्नेपर्छ । सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रयण गर्ने  र सन्तुलित विकासका लागि जोडदार रुपमा आवाज बुलन्द गर्नेछु,’ घिमिरेले भन्नुभयो ।

    मुक्ति समाज सिद्धार्थनगरका अध्यक्ष गणेश रसाइलीको अध्यक्षता तथा अमित सेन्चुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।