२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

निर्वाचन आयोगद्वारा ‘डिजिटल’ मतदाता शिक्षा अभियान शुरु

आइतवार , फाल्गुण ३, २०८२

  • 145
    Shares
  • 145
    Shares
  • काठमाडौं, ३ फागुन । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा विशेष मतदाता शिक्षा अभियान शुरु गरेको छ ।

    फागुन ३ गतेदेखि शुरु भएको यो अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । विगतका निर्वाचनमा देखिएका कमजोरीलाई सुधार्दै आयोगले यस पटक आफ्नै नेतृत्वमा प्रभावकारी रूपमा कार्यक्रम अगाडि बढाएको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । विगतमा स्थानीय तहका कर्मचारीहरूलाई स्वयंसेवकको रूपमा परिचालन गरिँदै आएकोमा यस पटक आयोगले प्रत्येक वडामा एक–एक जना आफ्नै स्वयंसेवक नियुक्त गरेको छ ।

    स्थानीय तहबाट सञ्चालित कार्यक्रममा अपनत्वको कमी देखिएकाले यस पटक आयोगले आफैंले स्वयंसेवक छनोट गरी तालिम दिएर कार्यक्षेत्रमा खटाएको हो । यी स्वयंसेवकहरूले स्थानीय भाषा र परिवेश बुझेर मतदाताहरूलाई सही तरिकाले मतदान गर्ने विधि सिकाउनेछन् । यस पटकको मुख्य विशेषता ‘डिजिटल मतदाता शिक्षा’ रहेको सूचना अधिकारी घिमिरेले बताउनु भयो ।

    कागजको प्रयोगलाई न्युनिकरण गर्ने उद्देश्यले आयोगले पोस्टर र पम्प्लेटको सट्टा सामाजिक सञ्जाललाई प्राथमिकता दिएको छ । निर्वाचन आयोगको आधिकारिक फेसबुक पेज ‘इलेक्सन कमिसन नेपाल’ मा उपलब्ध रहेका भिडियो, एनिमेसन र ब्रोसरहरू मतदातालाई देखाएर शिक्षा दिइनेछ । स्वयंसेवकहरूले घरदैलोमा जाँदा नमूना मतपत्र र स्वस्तिक छापको प्रयोग गर्दै मत बदर हुन नदिने तरिका सिकाउने घिमिरेले बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘कुनैपनि निर्वाचनमा मतदाता शिक्षा भनेको एउटा अभिन्न एउटा कम्पोनेन्टको रुपमा रहेको हुन्छ, निर्वाचनको लागि । यो विशेष अभियानको रुपमा पनि सञ्चालन गर्नुपर्ने हुन्छ आयोगले । र विगतमा हेर्ने हो भने ७९ सालको प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनमा पनि मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भनेर निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका भनेर २०७८ आयोगले स्वीकृत गरेको र त्यही बमोजिम यो मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको थियो ।

    त्यतिखेर पनि यो वडा स्तरहरुमा मतदाता शिक्षा स्वयंसेवकहरु परिचालन भएका थिए । तर निर्वाचन आयोगले अनुरोध गरेका आधारमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्देशन भए बमोजिम स्थानीय तहहरुले नै आफैँले एउटा आयोजना गरेर त्यहाँ भएका स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई नै स्वयंसेवकको रुपमा परिचालन गर्नुभएको थियो ।

    र अब त्यो चाहीँ निर्वाचन आयोगले अराएको तर स्थानीय तहले सञ्चालन गर्नुपर्ने भएको हुँदाखेरि त्यसको अपनत्व चाँही स्थानीय तहले त्यति गम्भीर रुपमा नलिएको हो कि भन्ने जस्तो देखिएको थियो त्यतिखेर । र अब त्यसलाई पछि निर्वाचन पछाडि आयोगले समीक्षा गर्दाखेरि पनि स्थानीय तहबाट आफैँ सञ्चालन भएको कार्यक्रम त्यति प्रभावकारी नभएको हो कि भन्ने उद्देश्यले यो पटक आयोगले आफैले स्वयंसेवकहरु नियुक्ति गर्ने र स्वयंसेवकहरुलाई आफैँले तालिम दिएर सम्बन्धित वडाहरुमा परिचालन गर्ने एउटा विशेष मतदाता शिक्षा कार्यक्रम स्वीकृत गरेको छ ।

    सोही बमोजिम चाहिँ अहिले फागुन ३ गतेबाट सबै स्थानीय तहका वडाहरुमा एक—एक जना स्वयंसेवकहरु खटिरहनुभएको छ । उहाँहरु मतदाताहरुको घरदैलोमा, विद्यालयहरुमा र बस्तीहरुमा गएर निर्वाचन आयोगले उपलब्ध गराएको नमूना मतपत्र र स्वस्तिक छापको माध्यमबाट कसरी मतदान गर्दाखेरि सही तरिकाको मतदान हुन्छ, मत बदर हुँदैन भन्ने विषयमा पर्याप्त जानकारी उहाँहरुले गराउनुहुन्छ मतदाताहरुलाई।

    सँगसँगै उहाँहरुको अर्को पनि एउटा मुख्य जिम्मेवारी के छ भने निर्वाचन आयोगले यो पटक कागजलाई कम प्रयोग गरेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइरहेको छ । हामी भन्ने पनि गर्छौँ यो डिजिटल मतदाता शिक्षा कार्यक्रम हो हाम्रो भनेर । र हाम्रा सामाजिक सञ्जालहरु विशेषगरी फेसबुक, फेसबुक पेजमा भएका जति पनि मतदाता शिक्षा सामग्रीहरु छन् त्यहाँ पोस्टरहरु छन्, पम्प्लेटहरु छन्, ब्रोसर छ, त्यहाँ भिडियोहरु छन्, एनिमेसनहरु छन्, कसरी सही तरिकाले मतदान गर्ने भन्ने सम्पूर्ण विषयहरु त्यहाँ छ ।

    ती विषयहरुलाई हेर्ने, अध्ययन गर्ने र त्यही कुराहरु मतदाताहरुलाई देखाउने र यो तरिकाबाट मतदान गर्नुपर्छ अनि मात्रै सही तरिकाको मतदान हुन्छ भन्ने शिक्षा दिने प्रयोजनका लागि पहिलो नम्बरमा त स्वयंसेवकहरु जो स्थानीय तहका स्थानीय परिवेश बुझेका, स्थानीय भाषा थाहा भएका र स्थानीय स्तरमै त्यही वडाहरुमै बसोवास गर्नुहुने स्वयंसेवकहरु हुनुहुन्छ र उहाँहरुलाई मनिटरिङ गर्नका लागि अनुगमनकर्ता भनेर अर्को नियुक्ति गरेको छ आयोगले ।

    ती चाहीँ हरेक स्थानीय तहका विगतमा निर्वाचन आयोगले निर्वाचन सम्पर्क व्यक्तिको रुपमा नियुक्त गरेर खटाएका व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुले उहाँहरुलाई चाहिँ स्वयंसेवकहरुलाई तालिम दिनुभएको छ र उहाँहरुले गरेको कार्यको हरेक दिन मनिटरिङ पनि गर्नुहुन्छ। त्यसको लागि आयोगले केन्द्रीय अफिसमा एउटा छुट्टै ह्वाट्सएप ग्रुप पनि बनाएको छ, सबैलाई यहीँबाट मनिटरिङ पनि गर्ने गरेको छ ।

    त उहाँहरुले पहिलो नम्बरमा स्वयंसेवक हुनुहोस् वा निर्वाचन सम्पर्क व्यक्ति हुनुहोस् उहाँहरुले निर्वाचन आयोगको आधिकारिक फेसबुक पेज ुइलेक्सन कमिसन नेपालुको ब्लु टिक भएको त्यो पेजलाई उहाँहरुले फलो गर्नुपर्छ । फलो गरिसके पछाडि आफ्नो मोबाइलमा सम्पूर्ण विवरणहरु आउँछ ।

    त्यही तरिकाले मतदाताहरुलाई पनि यो पेजलाई फलो गर्न लगाउनुहुन्छ अनि त्यसपछाडि त्यो मतदाताले पनि त्यहीँबाट हेर्नुहुन्छ कस्तो खालको शिक्षा आयोगले दिइरहेको छ भन्ने कुरो र उहाँहरुले पनि त्यही कुरो हेरेर उहाँहरुलाई सिकाउनुहुन्छ । त्यसले गर्दा हामीले पोस्टर, पम्प्लेट अरु छपाई सामग्रीहरु केही पनि उत्पादन गरेका छैनौँ, केही पनि पठाएका पनि छैनौँ। खाली एउटा नमूना मतपत्रको माध्यमबाट यो देशभरि फागुन ३ गतेदेखि १७ गतेसम्म यो अभियान सञ्चालन भइरहेको छ ।’

    सूचना अधिकारी घिमिरेकाअनुसार अभियानको प्रभावकारिता अनुगमन गर्न आयोगले प्रविधिको प्रयोग गरेको छ । हरेक स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिहरूलाई अनुगमनको जिम्मेवारी दिइएको छ भने केन्द्रबाट ह्वाट्सएप ग्रुपमार्फत दैनिक रिपोर्टिङ र अनुगमन भइरहेको छ । मतदाताहरूलाई पनि आयोगको आधिकारिक पेज फलो गर्न प्रोत्साहन गर्दै डिजिटल माध्यमबाटै निर्वाचन सम्बन्धी जानकारी लिन आग्रह गरिएको छ ।