आइतवार , फाल्गुण ३, २०८२
भैरहवा, ३ फागुन । रोटरी क्लब अफ भैरहवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० वेवरीस्थित नमुना इङ्लिस बोर्डिङ्ग स्कूलमा बालबालिकाको व्यवहार र तनाव व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरेको छ । क्लबले आफ्नो सामाजिक कार्य अन्र्तगत विद्यालयमा उक्त कार्यक्रम गरेको जनाएको छ ।
क्लबका अध्यक्ष कमल कोइरालाको अध्यक्षता तथा नमुना ईङ्गलिस बोर्डिङ्ग स्कूलका अध्यक्ष कुम बहादुर बयम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा विद्यालयका शिक्षक शिक्षिकाहरु, रोटेरियन शिवहरी शर्मा, मनिष भट्टराई लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बयम्बुले शिक्षकहरुको लागि यस्तो खालको कार्यक्रमले नयाँ उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो तालिमले शैक्षिक क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनुभयो । बालबालिकाको मनोभाव बुझने र सोहीअनुसारको शैक्षिक गतिविधि गर्न सर्वप्रथम शिक्षकशिक्षिकाहरु नै तनावमुक्त हुनुपर्ने भएकाले यस्तो खालको कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न समेत टेवा पुग्ने बताउनुभयो ।
रोटरी क्लब अफ भैरहवाका अध्यक्ष एवम् विद्यालयका प्राचार्य कमल कोइरालाले क्लबले विभिन्न खालका सामाजिक कार्यहरु गर्दै आईरहेको बताउनुभयो । उहाँले विद्यालयमा अध्यापनरत शिक्षकहरुको तनाव व्यवस्थापन कसरी गर्ने भन्नेबारे जानकारी दिने र त्यसलाई कक्षाकोठामा समेत उपयोगिता सिद्ध गर्न बाल व्यवहार समेत समेटी तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिमले विद्यालयमा अध्ययनरत सम्पूर्ण शिक्षकशिक्षिकाहरुको मनोबल उच्च गराउनेमा समेत विश्वस्त रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षकका रुपमा रोटरीयन उमेशचन्द्र आचार्य र रन्जु शर्मा रहनुभएको थियो । रोटरीयन पवन पौडेलको स्वागत तथा सचिव सुमन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
