सोमवार , फाल्गुण ४, २०८२
भैरहवा, ४ फागुन । जनता समाजवादी पार्टी (जसपा), नेपालकोबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रीनिवास यादव नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ । जसपा नेपालको केन्द्रीय सदस्य समेत रहनुभएका यादव सोमबार एमालेमा प्रवेश गर्नुभएको हो । यादवलाई सोमबार भैरहवामा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भूमिश्वर ढकाल, गुमादेवी आचार्यसहित नेताहरुले पार्टीमा प्रवेश गराउनुभएको हो ।
‘आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन रुपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालकोतर्फबाट उम्मेदवार रहेको यहाँहरुलाई सर्वविदितै छ । प्रचलित कानूनअनुसार उम्मेदवारी दर्ता गरी आजका मितिसम्म म श्रीनिवास यादव रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताका अधिकांश घरघरमा पनि पुगेको छु । यो क्रममा मतदाताको मनोभावनालाई समेत मध्यनजर गर्दै र अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायीत्व र निकासका लागि नेकपा (एमाले) नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित हुने पार्टीका रुपमा अनुसरण गर्दै देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु, ’उहाँले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले श्रीनिवास यादवको प्रवेशले रुपन्देही–३ मा एमालेको जीतलाई अझ सुनिश्चित गरेको बताउनुभयो । उहाँले यो प्रवेशले अन्य क्षेत्रमा पनि सहयोग पुग्ने बताउनुभयो । उहाँले २०७९ सालमा एमालेले पाँचवटामध्ये तीनवटा क्षेत्र जितेको र यसपटक पाँचवटा क्षेत्र जित्ने बताउनुभयो ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बासुदेव घिमिरे नेपालको सर्वाधिक र लोकप्रिय पार्टी एमाले नै भएको दावी गर्नुभयो । उहाँले मुलुकको विकास र समृद्धिका लागि एमाले नै निर्णायक शक्ति हो भन्ने कुरालाई मध्यनजर गदैै जसपा नेपालका केन्द्रीय सदस्य श्रीनिवास यादव पार्टीमा प्रवेश गर्नुभएको बताउनुभयो ।
क्षेत्र नम्बर ४ का उम्मेदवार प्रमोद कुमार यादवले अबदेखि रुपन्देही–३ सहित जिल्लाका सम्पूर्ण निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जिताउन आग्रह गर्नुभयो । एमाले रुपन्देहीका जिल्ला अध्यक्ष यज्ञ गैरेले एमालेमा प्रवेश गर्नुभएका श्रीनिवास यादवलाई उचित जिम्मेवारी प्रदान गरिने बताउनुभयो ।
जिल्ला उपाध्यक्ष हितराज पन्थीले एमाले नै मुलुकको निर्णायक शक्ति भएको दावी गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
