जनकपुर, ४ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई उडानमार्फत जोड्ने पहल गरिएको बताउनुभएको छ ।
मिथिला मध्यमा परिक्रमाको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस पहलले मधेस प्रदेशको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँकाअनुसार प्रदेश सरकारले मधेस प्रदेशलाई रामायण सर्किटसँग जोड्दै जनकपुर र अयोध्याबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने योजना अघि सारेको छ । सीता सर्किट र रामायण सर्किटलाई जोड्नसके जनकपुरको मात्र नभई सिंगो मधेश प्रदेशकै विकास हुने र यस क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय गन्तव्यको पहिचान बनाउने विश्वास व्यक्त गर्नुभये ।
यस योजनालाई मूर्त रूप दिन छिट्टै भारत भ्रमण गर्ने र त्यहाँका सम्बन्धित निकायहरूसँग समन्वय गरी कामलाई तिब्रता दिने बताउनु भयो । उहाँले यस कार्यका लागि सकारात्मक आश्वासन प्राप्त भइसकेको र प्रक्रियालाई तत्काल अगाडि बढाइने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ अब आउने अर्को वर्षको लागि हामी सरकारको भुमिका निर्धारण गर्छौं र खासगरी यो प्रदेशलाई, यो जनकपुर स्थललाई राम सर्किटसँग जोड्ने हाम्रो प्रयास छ । रामायण सर्किटसँग, डाइरेक्ट अयोध्यासंग यता सीता सर्किट र रामायण सर्किटलाई जोडेपछि मलाई लाग्छ यो जनकपुर मात्र होइन मधेश प्रदेशको पनि विकास हुन्छ र मधेस प्रदेश पनि पर्यटकीय स्थलको रुपमा चिनिन्छ र त्यसैको उसमा मैले कुरा पनि अगाडि बढाएको छु ।
मलाई त्यो हिसावले त्यहाँबाट आश्वासन पनि आएको छ । म जान्छु इण्डिया जान्छु, इण्डिया गएर सम्बन्धित निकायहरूमा म सम्पर्क गर्छु र यो कामहरुलाई अगाडि तुरन्तै अगाडि बढाउँछु ।
त्यसै क्रममा यहाँ मैले अस्ति पनि कुरा गरेको एयरपोर्टमा, त्यो म संघ सरकारसँग पनि कुरा गर्छु वार्ता गर्छु र यो प्रदेशसँग पनि हुने सहयोग जस्तै यहाँ एयरपोर्टलाई यदि हामीले एक्सटेन्सन ग¥यौं भने प्रत्येक दिन ५०० भन्दा बढी पर्यटकहरु डाइरेक्ट यहाँबाट फ्लाईट अयोध्या जोड्यो भने प्रत्येक दिन ५०० भन्दा बढी दर्शनार्थीहरु यो सीता दर्शन गर्न आउँछ, त्यो हिसावको वातावरण म बनाउने प्रयास गर्छु ।
र त्यसै अन्तर्गत यो स्वच्छ सफा हराभरा जनकपुरको पनि अवधारणा म ल्याउँछु र जनकपुरलाई पनि स्वच्छ जनकपुरको रुपमा यो विश्वमा चिनियोस् भन्ने मेरो धारणा छ। म त्यो हिसाबले अगाडि बढ्छु ।’
जनकपुर विमानस्थलको स्तरोन्नति र विस्तारका लागि सङ्घीय सरकारसँग समेत समन्वय भइरहेको उहाँको भनाइ छ । विमानस्थल विस्तार गरी अयोध्याबाट सिधा उडान सञ्चालन गर्नसके दैनिक ५ सय भन्दा बढी भारतीय दर्शनार्थीहरू माता सीताको दर्शन गर्न आउने उहाँको विश्वास छ ।