२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको अपिल

मंगलवार , फाल्गुण ५, २०८२

  • 667
    Shares
  • 667
    Shares
  • काठमाडौं, ५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सवैलाई आह्वान गर्नुभएको छ ।

    ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शितल निवासमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भन्दै फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सवैलाई आह्वान गर्नुभएको हो ।

    उहाले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको धारणा राख्नुभयो । मौलिक नेपाली पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु सवैको साझा दायित्व भएको उहाले बताउनुभयो ।

    यस्तै राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने उल्लेख गर्नुभयो । उहाले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदायले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गरेको बताउनुभयो । 

    शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएको शेर्पा जाति विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुशीको विषय भएको उहाले बताउनुभयो । ग्याल्पो ल्होछार फागुन ६ गते बुधबार मनाइदैछ ।