२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

विदेशी लगानी भित्राउन स्वचालित मार्ग विस्तार

बुधवार , फाल्गुण ६, २०८२

  • 172
    Shares
  • 172
    Shares
  • काठमाडौं, ६ फागुन । सरकारले उद्योग व्यवसायका क्षेत्रमा विदेशी लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाएको छ ।

    नेपाल सरकारले विदेशी लगानीलाई थप सहज र डिजिटल बनाउने क्रममा स्वचालित मार्गमार्फत विदेशी लगानी अनलाइन स्वीकृति दिने प्रक्रियालाई सहजीकरण गरेको हो । यसअघि स्वचालित मार्गबाट ५० करोड रुपैयाँसम्म मात्र विदेशी लगानी स्वीकृतहुन्थ्यो । तर हालैको मन्त्रिपरिषद् बैठकले यो सीमालाई हटाएको छ ।

    अब जुनसुकै रकमको विदेशी लगानी पनि तोकिएका क्षेत्रमा स्वचालित मार्गबाट स्वीकृत हुनसक्छ । नयाँ व्यवस्थाले मुख्य सात वटा औद्योगिक क्षेत्रका कुल १ सय २ वटा व्यावसायिकक्षेत्रमा कुनैपनि सीमा बिना लगानी भित्राउने बाटो खोलेको छ ।

    यसअघि २०८० असोज १५ गते प्रकाशित राजपत्रको सूचनाअनुसार स्वचालित मार्गबाट हुने विदेशी लगानीमा ५०करोड रुपैयाँको अधिकतम सीमा तोकिएको थियो ।

    उक्त पुरानो सूचना लाईअहिलेको नयाँ राजपत्रले खारेज गरिदिएको हो । लगानीकर्ताले उद्योग विभागको अनलाइन प्रणाली मा आवेदन दिएपछि आवेदनदिएको तुरुन्तै वा ७ कार्य दिनभित्र स्वीकृति प्रमाणपत्र इमेलमार्फत प्राप्त हुन्छ । यसले कम्पनी दर्ता र उद्योग सञ्चालनलाई छिटो बनाउँछ । 

    स्वचालित मार्ग लागू हुने क्षेत्रहरूमा ऊर्जा उत्पादन, कृषि तथा वन उत्पादन,पूर्वाधार, पर्यटन, सूचना प्रविधि आधारित उद्योग, सेवा क्षेत्र,उत्पादनमूलक उद्योग लगायत रहेका छन् । सूचना प्रविधि क्षेत्रमा पनि न्युनतम लगानी सीमा पनि छैन ।

    विदेशी लगानीकर्ताले अनलाइन फारम भर्नुपर्छ । कम्पनीको देश, लगानी रकम, क्षेत्र आदि विवरणसहित अनालाइनमार्फत  आवश्यक कागजात अपलोड गरेपछि सबै मापदण्ड पूरा भएमा प्रणालीलेस्वतः स्वीकृति दिनेछ ।स्वीकृति पाएपछि नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा स्रोत प्रमाणित गर्नुपर्नेहुन्छ । 

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा कुल ४० अर्ब २८ करोड रुपैयाँ को विदेशी लगानी प्रतिबद्धता आएको छ, जसमा स्वचालित मार्गबाट पनि त्यस्तो लगानी आउने क्रम बढ्दो छ । स्वचालित व्यवस्थाले विदेशी लगानीकर्तालाई नेपालमा व्यवसाय शुरु गर्न निकै सहज बनाएको छ ।