२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

पत्रकारमाथि झुटो आरोप लगाएको भन्दै प्रेस चौतारीले जनायो आपत्ति

बिहिवार , फाल्गुण ७, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • रुपन्देही, ७ फागुन । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुटवल उपमहानगरपालिका–११ का सभापति सुनिल शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई लक्षित गर्दै लगाएको आपत्तिजनक, निराधार र झुटा आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रदेश महासचिव हरि अधिकारीद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा पत्रकार तथा सञ्चारमाध्यमलाई समाचार लेख्न र विचार अभिव्यक्त गर्न संविधानले सुनिश्चित गरेको स्वतन्त्रता रहेको उल्लेख गर्दै कुनै समाचारप्रति असहमति भए कानूनी प्रक्रियाअनुसार प्रेस काउन्सील नेपालमा उजुरी दिन सकिने व्यवस्था स्पष्ट रहेको बताइएको छ ।

    विज्ञप्तिमा पूर्वाग्रह र प्रतिशोधपूर्ण मनसाय राखी प्रमाणबिना पत्रकारमाथि लाञ्छना लगाउनु पत्रकारिता पेशाको अवमूल्यन र बदनाम गर्ने कार्य भएको ठहर गरिएको छ । शाहीले इंगित गरेको विषयमा केही पत्रकारले प्रत्यक्ष स्थलगत अवलोकन, टोल विकास संस्था तथा सम्बन्धित वडाका जनप्रतिनिधिसँग बुझ्दा आरोपहरू शतप्रतिशत झुट र भ्रामक रहेको दावी गरिएको छ ।

    प्रेस चौतारीले शाहीलाई सार्वजनिक रूपमा माफी माग्न, गल्ती सच्याउन तथा भविष्यमा प्रेस स्वतन्त्रता र पत्रकारमाथि निराधार धावा बोल्ने गतिविधि नगर्न आग्रह गरेको छ । साथै सम्बन्धित दललाई पनि आफ्ना कार्यकर्तामाथि लगाम लगाउन र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कार्य नगर्न सचेत गराएको छ ।