२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

नयाँ संसद भवनमा आगामी अधिवेशन चलाउने तयारी

शुक्रवार , फाल्गुण ८, २०८२

  • 583
    Shares
  • 583
    Shares
  • काठमाडौं, ८ फागुन । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिनुभएको छ ।

    भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उहाँले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिनुभएको हो । अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै निर्माणको तिब्रता नदेखिएको स्पष्ट पार्नुभयो । यद्यपि, पछिल्लो समय केही प्रगति भएको उहाँको भनाइ छ ।

    सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ धेरै पटक निर्देशन दिइसकेको बताउनु भयो । उहाँले केही दिन अघि मात्रै शहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको जानकारी दिनुभयो ।

    अध्यक्ष दाहालकाअनुसार सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार हुनुपर्नेछ । निर्वाचन पछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘अब पहिलो कुरा त बनेको त हामी सबैले हेरिहाल्यौँ कति बन्यो भन्ने कुरा । हामीलाई जुन स्पिडबाट जुन स्तरबाट यो बन्नुपथ्र्यो भन्ने लागिराख्या छ त्यो स्तरबाट अझै स्पिड आइसकेको छैन । किनभने अब करिवकरिव सदन चल्ने कुरा त निधो नै भइसक्यो । अब दुई—चार दिन तलमाथि होला नत्र भने अब सदन चल्ने स्थितिलाई इलेक्शन भएपछिको स्थिति ।

    अब त्यो सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ हामीले पहिले देख्न धेरै पटक निर्देशन दिइयो । अब अहिले लास्ट पटक आएर दिएको निर्देशनअनुसार अलिकति काममा प्रगति भएको त पाइएकै छ । उहाँहरूसँग अहिले कुरा गर्दाखेरि पनि हामी दिन्छौँ भनेको बेलामा हामी दिन्छौँ भन्ने खालको कुरा प्रतिवद्धता भनौँ न जाहेर गर्नुभएको छ ।

    त्यति मात्र होइन, योभन्दा अलि अगाडि दस दिन अगाडि होला मेरो आफ्नै कार्यकक्षमा शहरी विकास मन्त्रालयको सचिवहरु अनि यहाँका सबैलाई बोलाएर सम्बन्धित पक्षलाई बोलाएर पनि त्यहाँ अलिअलि कडै निर्देशन दिएको हो । अब त्यही कुरा यहाँ भन्न त मिलेन। तर धेरै ढङ्गले हामीले कोशिस ग¥यौं । हाम्रो आफ्नो ठाउँबाट पनि पहल गरिराखेका छौँ र उहाँहरु पनि अहिले लागिराखेकै स्पिडमा देखिन्छ । त्यसले गर्दा अब आशा गरौँ कम्तीमा संसद चलाउने ढङ्गले उहाँहरूले हाम्रो हातमा दिनुहुन्छ ।

    दिनुपर्छ, दिनुहुन्छ मात्रै होइन दिनैपर्छ । अब यो स्पिड हो, अब त्यही स्पिडमा उहाँहरूले काम गर्छु भन्नुभएको हुनाले अब त्यही सबैले अपेक्षा गरौँ । त्यही अनुसार यसलाई तर अब कतिपय अरु बाहिरका काम, फिनिसिङका काम, अरु अरु अवयवहरु छन् नि यहाँ त फेरि सदन भनेको त हल मात्रै त होइन ।

    यहाँ हलकै समस्या पहिलो टड्कारो भएर अलि हल हल भन्या हो तर सदन चलाउनको लागि त सम्पूर्ण अवयवहरु चाहियो नि त। अब त्यो अब त्यो तत्कालै दिने देखिँदैन । तर कम्तीमा संसद चलाउनेसम्म प्रतिनिधि सभा राष्ट्रिय सभा चलाउने सम्म दिनुभयो भने त्यसैलाई धन्यवाद ठान्नुपर्छ ।’

    नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै अध्यक्ष दाहालले फिनिसिङ र अन्य प्राविधिक पक्षहरूमा पनि ध्यान दिन आग्रह गर्नुभएको छ । आगामी अधिवेशनसम्म मुख्य हलहरू हस्तान्तरण हुनेमा उहाँले आशा व्यक्त गर्नुभएको छ ।