२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

शनिवार , फाल्गुण ९, २०८२

  • 139
    Shares
  • 139
    Shares
  • बुटवल, ९ फागुन । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’को घरदैलो कार्यक्रम शुक्रबार पनि तिलोत्तमा नगरपालिकाका विभिन्न वस्तीमा गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार पाण्डेसहितका नेता–कार्यकर्ताले तिलोत्तमाको वडा नम्बर ५ का प्रेमनगर, टिकानगर, शान्ति मावि चोक , नयाँमिल लगायतका क्षेत्रमा मतदाताको घर–घरमा पुगेर तारा चिन्हमा भोट मागेका छन । उनीहरुले झण्डा, माईक, ब्यानर र प्रतिवद्धतापत्रसहित घर–घर र टोल–टोलमा पुगेर स्थानीय मतदातासँग मत मागेका हुन ।

    मतदातासँगको भेटघाटमा उम्मेदवार पाण्डेले जनताको पक्षमा काम गर्न नसक्नेले निर्वाचनका बेलामा अनेक लोभलालच देखाँउदै घरदैलोमा आउने गरेकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले आफ्नो अमूल्य मतले पाँच वर्षको लागि भाग्य र भविष्यको फैसला गर्ने भएकाले निकै संयमित र विचार पुर्याएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो । अहिले हुँदै गरेको निर्वाचन नियमित नभएर जेनजी आन्दोलनले निम्त्याएको  विशिष्ट परिस्थितिको निर्वाचन भएकाले उक्त आन्दोलनको मर्म बुझेर मतदानमा सहभागी हुन उहाँले सबैमा अपील गर्नुभयो ।
    प्रचारप्रसारमा सहभागी भएका उम्मेदवार र नेता कार्यकर्तालाई मतदाताले विभिन्न जिज्ञासा राख्दै निर्वाचनमा विजयी पश्चात जनताका पीरमर्का नभुल्न अनुरोध गरेका थिए ।

    सो क्रममा जनताका जिज्ञासा मेटाउँदै उम्मेदवार पाण्डेले आफू जीत हारको जुनसुकै परिणाम आए पनि आगामी दिनमा जनताका समस्या सुल्झाउन सधै लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । घरदैलोका क्रममा जनताको उत्साह, सल्लाह र सुझावले आफ्नो विजयी यात्रा सुनिश्चित हुँदै गएको भन्दै उहाँले कुनै ऐजण्डा बिना र आश्वासनका पोका बोकेर आएका उम्मेदवारलाई चिनेर आफ्नो अमूल्य मत प्रयोग गर्न मतदातासंग आग्रह गर्नुभयो ।

    मतदातासँगको भेटमा उम्मेदवार पाण्डेले निर्वाचन सम्पन्न भएपछिका दिनमा जनपक्षीय काम गर्ने सवालमा कुनै शंका नगर्न आग्रह गर्दै त्यसको परिणाम निर्वाचनपछि देखिने बताउनुभयो। निर्वाचन परिचालन समितिका संयोजक नारायण जी सी ‘निर्मल’ का अनुसार निर्वाचन आयोगको आचारसंहिताभित्र रहेर उम्मेदवारसहितको घरदैलो नियमित हुनेछ ।

    उम्मेदवार पाण्डेले रुपन्देही क्षेत्र नम्बर २ का बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बरसम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बरसम्मका वडामा समय मिलाएर नियमित घरदैलो गर्दै आएका छन ।

    परिचालन समितिका संयोजक जीसीका अनुसार प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहने छ । त्यस क्रममा स्थानीयसँग अन्तरक्रिया, छलफल गर्दै आफ्नो उम्मेदवारलाई मत दिनुपर्ने कारणबारे जानकारी गराइने संयोजक जीसीले बताउनुभयो ।