शनिवार , फाल्गुण ९, २०८२
रुपन्देही, ९ फागुन । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार विष्णु प्रसाद पौडेलले भौतिक र मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाउँदै रुपन्देहीलाई देशकै अग्रणी जिल्लाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बोलेर होइन, गरेर देखाउने नीति लिएको उल्लेख गर्दै उहाँले गर्न सकिने, अघि बढिसकेका र परिणाम दिने योजना मात्र समेटेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको बताउनुभयो ।
शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा कालीगण्डकी–तिनाउ नदी डाइभर्सन बहुउद्देश्यीय आयोजना, बुटवल–पोखरा सडक स्तरोन्नति गरी यात्रा समय दुई घण्टामा झार्ने योजना, अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण, एकीकृत सहरी पूर्वाधार विकास, ग्रेटर लुम्बिनी परियोजना, कृषि थोक बजार केन्द्र, चुरे संरक्षणका नमुना आयोजना, हिल स्टेशन विकास, भूमि तथा सुकुम्वासी समस्याको दीर्घकालीन समाधान र विद्युत् तथा सञ्चार तार भूमिगत व्यवस्थापनजस्ता योजना समेटिएका छन् ।
‘समृद्ध रुपन्देहीको आधार ः शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार’ भन्ने नारासहित सार्वजनिक प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, रोजगार तथा स्वरोजगार, सडक, पुल र सहरी पूर्वाधार, उद्योग–व्यापार, कृषि, सिँचाइ, नदी तथा पहिरो नियन्त्रण, पर्यटन, भूमि व्यवस्थापन, खेलकुद, विद्युत्, सञ्चार, सूचना प्रविधि, सामाजिक सुरक्षा र आर्थिक विकासका स्पष्ट खाका प्रस्तुत गरिएको छ ।
नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले आफ्नो अगुवाइमा अघि बढिसकेका योजनालाई सम्पन्न गर्ने र निर्माणाधीन आयोजनालाई गति दिने विषयलाई विशेष प्राथमिकतामा राख्नुभएको छ । कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाको डीपीआर तयार भइसकेकाले अब निर्माण कार्य प्रारम्भ गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
सहरी विकासतर्फ एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममार्फत सबै वडालाई सुविधायुक्त बनाउने, बस्तीबीचका हाइटेन्सन लाइन हटाउने, तीनवटै पालिकामा विद्युत्, इन्टरनेट र सडक बत्तीका तार भूमिगत वितरण प्रणालीमा लैजाने तथा बुटवललाई महानगरीय ढाँचामा विकास गर्दै महानगरपालिकातर्फ अघि बढाउने लक्ष्य लिइएको छ ।
शिक्षा क्षेत्रमा रुपन्देहीलाई विद्यालय तथा उच्च शिक्षाको प्रमुख केन्द्र बनाउने योजना अघि सारिएको छ । यसका लागि शैक्षिक भौतिक पूर्वाधार विस्तार, दक्ष जनशक्ति व्यवस्थापन र गुणस्तरीय शिक्षामा जोड दिइने उल्लेख छ ।
बिटिआई र केएनआइटीलाई प्राविधिक शिक्षालयका रूपमा थप व्यवस्थित बनाएर लैजाने, लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी स्वदेशी तथा विदेशी विद्यार्थी आकर्षित गर्ने, नेपाल विश्वविद्यालय स्थापनामा सहयोग गर्ने तथा लुम्बिनी वाणिज्य क्याम्पसलाई व्यवस्थापन र सूचना प्रविधि विषयको विश्वविद्यालयमा रूपान्तरण गर्ने लक्ष्य पनि समेटिएको छ ।
बुटवल मेडिकल कलेज सञ्चालन, बुटवल बहुमुखी क्याम्पस स्तरोन्नति, सामुदायिक क्याम्पसमा शैक्षिक भवन र छात्रावास निर्माण, कृषि र इन्जिनियरिङ क्याम्पस स्थापना तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने योजना पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
स्वास्थ्य क्षेत्रमा राजधानी वा अन्यत्र धाउन नपर्ने गरी गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको १ हजार २०० शय्याको पूर्वाधार सम्पन्न गर्दै उपकरण र जनशक्ति व्यवस्थापन गरिने, सैनामैना र तिलोत्तमालगायत क्षेत्रमा आधारभूत अस्पताल स्तरोन्नति, आयुर्वेद तथा प्राकृतिक चिकित्सा सेवा विस्तार, सामुदायिक अस्पतालको क्षमता वृद्धि, स्वास्थ्य बीमामार्फत सर्वसुलभ सेवा र निःशुल्क रक्तसञ्चार सेवा सुनिश्चित गरिने उल्लेख गरिएको छ ।
रोजगारी र स्वरोजगार सिर्जनामा सूचना प्रविधिमा आधारित उद्योगलाई प्राथमिकता दिइने जनाइएको छ । सफ्टवेयर विकास, डाटा साइन्स, क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा उद्योग स्थापना गर्न सहुलियत ऋण, युवाका लागि स्टार्टअप कोष, सीप विकास तालिम, विदेशबाट फर्केका युवाको सीप र पूँजी उत्पादनशील क्षेत्रमा प्रयोग तथा अध्ययनसँगै काम गर्ने अवसर सिर्जना गर्ने कार्यक्रम ल्याइने उल्लेख छ ।
यातायात पूर्वाधारअन्तर्गत सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड स्तरोन्नति, बुटवल–नारायणगढ सडक विस्तार, विभिन्न स्थानमा पुल निर्माण, स्थानीय सडक सञ्जाल विस्तार, सुरक्षित यातायात व्यवस्थापन र लिंक रोड निर्माणलाई प्राथमिकता दिइएको छ ।
शहरी विकासमा बुटवल, तिलोत्तमा र सैनामैनालाई समेटेर ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास कार्यक्रम’ सञ्चालन गरिने, आधुनिक सडक, ढल, पार्क, फुटपाथ, पार्किङ, स्मार्ट बसपार्क, वृद्ध विश्राम स्थल र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरिने योजना सार्वजनिक गरिएको छ । उद्योग, व्यापार र लगानी प्रवद्र्धनका लागि औद्योगिक क्षेत्र विस्तार, निजी लगानीमैत्री वातावरण निर्माण, बुटवल औद्योगिक क्षेत्र स्तरोन्नति, एकीकृत जाँच चौकी सञ्चालन तथा व्यापारिक क्षेत्रको पुनःव्यवस्थापन गर्ने लक्ष्य लिइएको छ ।
कृषि क्षेत्रमा उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, आधुनिक प्रविधि प्रयोग, किसानलाई तालिम, ऋण र बजार पहुँच सुनिश्चित गर्ने, कृषि थोक बजार केन्द्र निर्माण र चुरे संरक्षणका नमुना आयोजना सञ्चालन गरिने उल्लेख छ ।
निर्वाचन परिचालन कमिटीका संयोजक भोज प्रसाद श्रेष्ठले जनताको विश्वास जित्ने गरी कार्यान्वयन हुन सक्ने योजना मात्र प्रतिबद्धता पत्रमा समावेश गरिएको बताउनुभयो । रुपन्देही–२ बाट लगातार चारपटक निर्वाचित भइसकेका पौडेल पाँचौं जीतको खोजीमा हुनुहुन्छ ।
पार्टीले संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनमार्फत रुपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको र प्रतिबद्धता पत्रमा त्यही विषय समेटिएको तयार समितिका संयोजक डिआर घिमिरेले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij