२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

जनसमुदायबाट अपेक्षाभन्दा बढी माया पाएपछि खुसी छु : भट्टराई

शनिवार , फाल्गुण ९, २०८२

  • 163
    Shares
  • 163
    Shares
  • रुपन्देही, ९ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवार खिमलाल भट्टराई घरदैलोमा देखिएको जनलहरप्रति आफू उत्साहित बनेको बताउनुभएको छ । घरदैलो कार्यक्रमका क्रममा प्रत्येक क्षेत्रका जनसमुदायबाट अपेक्षाभन्दा बढी माया, समर्थन र भरोसा प्राप्त भएपछि आफू खुसी र उर्जावान बनेको भट्टराईले बताउनुभयो ।

    लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको सर्वपक्षीय विकासका लागि आफू लाग्ने र  क्षेत्रको विकासका लागि सदनबाट समस्याको समाधान गरिने उहाँले बताउनुभयो । आफू जनताको सुख र दुखमा सधै सँगै रहने उहाँले बताउनुभयो । 

    नेपालको राजनीतिमा नयाँ अनुहार नभए पनि खिमलाल भट्टराईको आम निर्वाचनको यात्रा पहिलोपटक हो । भट्टराईले राष्ट्रिय सभामा रहदा रुपन्देहीको क्षेत्र नम्बर ५ को शिक्षा, खेलकुद, सडक, खानेपानी, सिंचाई तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको स्थानीयको भनाइ छ ।

    विद्यालय भवन निर्माण, खेलकुद संरचना विकास र सामाजिक कार्यमा उहाँको  सक्रिय भूमिकाको स्थानीयले खुलेर प्रशंसा गरेका छन् । यी योगदानका आधारम रुपन्देही क्षेत्र नम्बर ५ ले अबको नेतृत्व भट्टराईलाई दिनुपर्ने  धारणा स्थानीयले व्यक्त गरेका छन् ।

    घरदैलो कार्यक्रमका क्रममा स्थानीयले सक्षम, विकासमुखी र जेन–जी पुस्ताको भावना बुझ्ने युवा नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै भट्टराईप्रति समर्थन जनाएका छन् । ‘अबको भोट युवा उम्मेदवार खिमलाल भट्टराईलाई’ भन्ने आवाज गाउँ–बस्तीमा गुन्जिन थालेको स्थानीय बताउँछन् ।

    स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको दुःख, पीडा र अपेक्षालाई नजिकबाट बुझ्नुभएका भट्टराईले यस क्रममा स्थानीयले पटक–पटक निर्वाचित भएका नेताहरूले केवल झुटा आश्वासन मात्रै दिएको गुनासो राख्दै अब नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् ।

    नेकपा (एमाले) का केन्द्रीय सदस्य उम्मेदवार भट्टराईले रुपन्देही–५ को समग्र विकासका लागि रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । जनतासँग प्रत्यक्ष संवादबाट प्राप्त सुझावलाई नै आफ्नो कार्ययोजनाको आधार बनाउने उहाँको भनाइ छ ।

    घरदैलो कार्यक्रमसँगै भट्टराईले जनताका समस्या संकलन गर्ने कामलाई पनि निरन्तरता दिनुभएको छ । कुन ठाउँमा के समस्या छ भन्ने विवरण डायरीमा टिप्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबास, खानेपानी, बाटोघाटो तथा सडक सञ्जालसम्बन्धी समस्या पहिचान गरिएको छ ।