२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

कृत्रिम हातखुट्टा वितरण शिविरबाट ५९ जना लाभान्वित

आइतवार , फाल्गुण १०, २०८२

  • 631
    Shares
  • 631
    Shares
  • भैरहवा, १० फागुन । रुपन्देहीको भैरहवामा सञ्चालित निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिविरबाट ५९ जनाले सेवा लिएका छन् । सवारी दुर्घटना, चोटपटक, विभिन्न रोगका कारण लगायतबाट हातखुट्टा गुमाएका व्यक्तिहरुलाई लक्षित गरेर नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले फागुन ७ देखि ९ गतेसम्म शिविर सञ्चालन गरेको थियो ।

    मारवाडी सेवा समिति, मारवाडी युवा मञ्च र मारवाडी महिला मञ्च, भैरहवाको सहयोगमा सञ्चालित शिविर अन्तर्गत शनिबार ५९ जना शारीरिक रुपमा अशक्त (हातखुट्टा) नभएकालाई कृत्रिम हातखुट्टा वितरण गरिएको नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोज अग्रवालले बताउनुभयो । उहाँले कृत्रिम हातखुट्टा वितरण गर्दा एउटा नयाँ आशा, आत्मविश्वास र नयाँ जीवन दिइएको अनुभुति भएको बताउनुभयो । उहाँले कृत्रिम हातखुट्टा वितरण शिविर तेस्रोपटक भैरहवामा सञ्चालन गरिएको र अब प्रत्येक २–२ वर्षमा गरिने जानकारी दिनुभयो । उहाँले नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले अग्रजहरुले सिकाएको संस्कारलाई आत्मसात गर्दै सामाजिक सेवाका कामहरु गर्दै आएको बताउनुभयो ।

    शनिबार भैरहवास्थित मारवाडी सेवा समितिको भवनमा आयोजित कार्यक्रममा बोल्नुहुँदै नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय सल्लाहकार मुरारीलाल अग्रवालले मारवाडी समुदायले देशमा उद्योग–व्यवसाय सञ्चालन गर्नुका साथै सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर रहेको बताउनुभयो । उहाँले समाजसेवाका कार्यहरु गर्नु सराहनीय र प्रेरणादायी भएको बताउनुभयो ।

    शिविर कार्यक्रमका स्थानीय संयोजक मनोज सिंघलले यो निःशुल्क कृत्रिम हातखुट्टा वितरण कार्यक्रम एउटा कार्यक्रम मात्र नभइ मानव सेवाको पवित्र अभियान पनि भएको बताउनुभयो । उहाँले शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई नयाँ जीवन, आत्मविश्वास र आत्मनिर्भरता प्रदान गर्ने सानो प्रयास भएको बताउनुभयो । यो अभियानमा साथ दिनुहुनुे सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

    कार्यक्रममा मारवाडी सेवा संघ, भैरहवाका अध्यक्ष श्रवण बेरिवाल, निवर्तमान अध्यक्ष हेमन्त अग्रवाल, समाजसेवी नन्दलाल गोयनका, नारायण प्रसाद अग्रवाल, डा. पवन कुमार गर्ग, मोहित सेठिया, मारवाडी महिला मञ्च भैरहवाको उपाध्यक्ष बेनु अग्रवाल लगायतले यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

    कृत्रिम हातखुट्टा पाएपछि मायादेवी गाउँपालिका–४ का सोमनाथ केवटले पाँच वर्षअघि सवारी दुर्घटनामा परी खुट्टा काट्नुपरेको र कृत्रिम खुट्टा पाएपछि त्यसले आफूलाई सहयोग गर्ने बताउनुभयो । ‘आज मलाई निकै खुसी लागेको छ, ’उहाँले भन्नुभयो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–२ का राजु बनियाले आफूले हात गुमाएको अवस्थामा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले कृत्रिम हातखुट्टा वितरण गरेर ठूलो सहयोग गरेको बताउनुभयो ।