२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

सबैभन्दा ठूलो लोडसेडिङ राजनीतिक क्षेत्रमा छ : अध्यक्ष घिसिङ

आइतवार , फाल्गुण १०, २०८२

  • 154
    Shares
  • 154
    Shares
  • भैरहवा, १० फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सबैभन्दा ठूलो लोडसेडिङ राजनीतिक क्षेत्रमा रहेको बताउनुभएको छ । उहाँले राजनीतिक क्षेत्रमा अनियमितासँगै यो क्षेत्र दुर्गन्धित र अध्यारो रहेको बताउनुभयो ।

    पार्टीद्वारा आइतबार भैरहवामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष घिसिङले भन्नुभयो–‘राजनीतिक क्षेत्रलाई उज्यालो र सफा गर्न उज्यालो नेपाल पार्टी आएको छ । यो पार्टीले राजनीति क्षेत्रमा रहेको दुर्गन्धलाई पहिला सफा गर्छ ।’

    उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि र आगामी फागुन २१ गतेको निर्वाचनमा भाग लिने सबैभन्दा नयाँ र उर्जाशील पार्टी भएको उहाँले बताउनुभयो । उहाँले जेनजी आन्दोलनको मागअनुसार र ती मागलाई सम्बोधन गर्न पार्टी स्थापना भएको बताउनुभयो । ‘यो जेनजीहरु, शहीद र घाइते परिवारले स्थापना गरेको पार्टी हो । आम मतदाताहरुहरुसँग नयाँ विकल्पको रुपमा प्रस्तुत गर्दै हामीले मत मागिरहेका छौं, ’उहाँले भन्नुभयो । उहाँले टेस्टेड पार्टी नयाँ नभएको बताउनुभयो ।

    उहाँले उज्यालो नेपाल पार्टी गफ गरेर र सोसल मिडियामा हल्ला गरेर नआएको दावी गर्नुभयो । ‘हिजो काम गरेर केही न केही परिणाम दिएका थियौं । हिजोको परिणामका लागि पनि तपाईहरुले यो पार्टीलाई मतदान गर्नुपर्छ । हामीले यो देशमा लोडसेडिङ अन्त्य गर्यौं’ अध्यक्ष घिसिङले भन्नुभयो ।’मन्त्री हुँदा तीन महिनामा देशमा विकास निर्माणका काम कसरी काम गर्न सकिन्छ भनेर परिणाम र उदाहरण दिएको उहाँले दावी गर्नुभयो । ‘उज्यालो नेपाल पार्टीसँग देशलाई कसरी समृद्ध र भ्रष्टाचारमुक्त बनाउने, सबै वर्ग, समूहलाई समेटेर समतामूलक समाज बनाएर अगाडि बढ्ने, सामाजिक न्याय कसरी दिलाउने, यो देशमा कसरी रोजगारी सिर्जना गर्ने र देशलाई आत्मनिर्भर बनाउने भन्ने रोडम्याप छ, ’अध्यक्ष घिसिङले भन्नुभयो । आफूहरुसँग रोडम्याप र भिजन मात्र नभइ कार्यान्वयन गर्ने क्षमता पनि रहेको उहाँको दावी छ ।

    ‘नेपाल र नेपाली जनताको भविष्यलाई उज्जवल बनाउने र हरेक क्षेत्रलाई उज्यालो बनाउन पार्टी दर्ता गरेका हौं । नेता बन्नलाई पार्टी खोलेको होइन । हामी कुनै नेता होइनौं, हामी राष्ट्र र जनताको सेवक बन्नलाई पार्टी स्थापना गरेको हो । राजनीतिक क्षेत्रमा जनताको सेवा गर्नलाई आएको हो । राजनीतिक माध्यमले मात्र नेतृत्वमा पुग्नलाई आएका हौं, ’उहाँले भन्नुभयो ।
    यो देशमा धेरै किसिमका बेथिति र अध्याराहरु रहेको एउटा क्षेत्रको अध्यारोलाई हटाइएको उहाँले जिकिर गर्नुभयो । अब समग्र क्षेत्रको अध्यारोलाई हटाएर धेरै क्षेत्रमा लोडसेडिङ अन्त्य गरेर गरीब परिवारको अनुहारमा उज्यालो ल्याउन आएको उहाँले बताउनुभयो । ‘यो पार्टीलाई गरीबको पार्टीको रुपमा हर्नेहोला । गरीबलाई मागलाई सम्बोधन गर्न आएको छ । पाटीले हरेक किसानको लागि निःशुल्क विद्युत उपलब्ध गराउने व्यवस्था प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ, ’उहाँले भन्नुभयो ।

    मलखाद, बिउबिजन नपाएर किसानले आफ्नो उत्पादन गर्न कठिनाइ रहेको उहाँले बताउनुभयो । ‘यो देशमा किसानले आफै उपादन गरेका तरकारी, खाद्यान्न, फलफूल विक्री नहुँदा तरकारी, दुध सडकमा फाल्नुपरेको छ । खाद्यान्न विदेशबाट आयात भइरहेको छ । हरेक क्षेत्रमा बिचौलिया छन्  । किसानले श्रमको मूल्य पाएको अवस्था छैन । उत्पादनको सही मूल्य पाएका छैनन्, किसानको समस्या समाधान गर्ने एजेडा हामीसँग छ, ’उहाँले भन्नुभयो ।

    मिटरब्याजी, लघुवित्त, सहकारी ठगीको काण्डले किसान र विपन्न मर्कामा परेको र पीडितहरुको समस्या समाधान गर्नका लागि आयोग गठेन गरेर दोषीमाथि कडा कारवाही गर्नुपर्ने आफूहरुको एजेण्डा रहेको उहाँले बताउनुभयो । ‘जनताको पैसा कही पनि ठगिनुहुँदैन । जनताको पैसा फिर्ता हुनुपर्छ भनेर प्रतिवद्धतापत्रमा उल्लेख गरेका छौं, उहाँले भन्नुभयो–‘गफ धेरै गर्छन, घोषणापत्रमा धेरै कुरा राख्छन् । त्यसको पाँच प्रतिशत पनि लागू गरेको देख्नुहुँदैन । हामीले बोलेका कुरा कार्यान्वयन गरेर देखाउँछौं । गरीबहरुलाई माथि ल्याउने पार्टी हो । सुकुम्बासीलाई बस्ने वातावरण बनाउनुपर्छ । कुराले मात्र होइन, कामले देखाएका छौं ।’

    नेपाल विद्युत प्राधिकरणमा आएपछि देशभरी लोडसेडिङको अन्त्य गरेको उहाँले बताउनुभयो । ‘विद्युत प्राधिकरण ३५ अर्ब घाटामा थियो । १ खर्ब भन्दा बढी नाफामा ल्याऔंं । यो देशको विद्युत भारत र बंगलादेशमा बेच्यौं । यो आर्थिक रुपान्तरण, आर्थिक क्रान्तिको उदाहरण थियो ।’
    आफूहरु सरकारमा स्थापित भएपछि अरुले १० वर्षमा गर्न नसकेको काम १ वर्षमा गरेर देखाउने उहाँले दावी गर्नुभयो । ‘अरुलाई बुझ्न २ वर्ष लाग्छ भने हामीसँग १ दिनमा कार्यान्यवन गर्ने क्षमता छ, ’अध्यक्ष घिसिङले भन्नुभयो ।

    त्यस्तै पार्टीका केन्द्रीय सदस्य किरण विकले उज्यालो नेपाल पार्टीले सबैभन्दा योग्य उम्मेदवार जनतासमक्ष पठाएको बताउनुभयो । जेनजी आन्दोलनको म्याण्डेट, मर्मलाई स्वीकार्ने सबैभन्दा पहिलो नेता कुलमान घिसिङ भएको उहाँले दावी गर्नुभयो ।

    पार्टीकोतर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सरोज सिंह चौधरी राजनीतिक स्थायीत्व र देशलाई निकास दिनका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको बताउनुभयो । उहाँले इमान्दार र काम गर्ने नेतृत्वलाई अघि बढाउँदा देश पक्कै पनि उज्यालोमय हुने दावी गर्नुभयो ।

    पार्टीको रुपन्देही जिल्ला संयोजक डा. उसमान अली, सह–संयोजक शिव बहादुर काफ्लेले विगतमा निर्वाचन जितेका पार्टीले जनताको पक्षमा काम गर्न नसकेको बताउनुभयो । उहाँहरुले कुलमान घिसिङले निर्वाचनअघि नै काम गरेर देखाइसक्नुभएको दावी गर्नुभयो ।