मंगलवार , फाल्गुण १२, २०८२
देवदह, १२ फागुन । रुपन्देही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिरा बहादुर खत्रीले महिलालाई घरमै बसेर कमाउन सक्ने बनाउने योजना ल्याउन आवश्यक भएको बताउनुभएको छ । अझै पनि ग्रामीण क्षेत्रका महिलाहरु घरमै बसेर घरको कामकाजमै समय बिताउने गरेको उल्लेख गर्दै घर यसै बसेर समय बिताउने महिलाहरुलाई थोरै भएपनि घरमै बसेर आत्मनिर्भर हुने योजना ल्याउने बताउनुभयो ।
रुपन्देही क्षेत्र नम्बर १ अन्तरगतका दक्षिणी भेगका पालिकाहरुमा सोमबार घरदैलोसँगै सुझाव संकलन तथा संवाद गर्नुभएका उम्मेद्वार खत्रीले महिलालाई आत्मनिर्भर र आर्थिकोपार्जनमा अब्बल बनाउने गरी योजना बनाएको बताउनुभयो । महिलालाई सीपसँग जोडेर उनीहरुलाई घरमै बसेर पनि आत्मनिर्भर बनाउनु अहिलेको आवश्यकता भएको बताउँदै उम्मेद्वार खत्रीले सानो–सानो सीप र इलम सिकाएर आफ्नो खुट्टामा आफै उभिन सक्ने बनाउने बताउनुभयो ।
मुलुकको विकासका लागि पनि पहिले महिलाको जीवनस्तर उकास्न जरुरी रहेको भनाइ राख्नुभएका खत्रीले महिला सशक्तिकण र आत्मनिर्भरताको पक्षमा आफुले सदनमा बहस गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
क्षेत्र नम्बर १ का देवदह, तिलोत्तमा नगरपालिका तथा रोहिणी र ओमसतिया गाउँपालिकाका विभिन्न वडामा दैनिक घरदैलो गर्नुभएका खत्रीले मतदातासँगको आवश्यकता, सुझाव र जिज्ञासा संकलन गर्दै हिंड्नुभएको निर्वाचन परिचालन समिति संयोजक हरि काफ्लेले जानकारी दिनुभयो । घरदैलो कार्यक्रममा सुशासन, विकास निर्माण, कृषिको आधुनिकीकरण, युवालाई रोजगारलगायतका विषयहरुलाई आम मतदाताले उम्मेदवार खत्रीसमक्ष राखेको संयोजक काफ्लेले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij